“युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद – नेपालको राष्ट्रिय खेल भलिबल” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीस्थित राईजिङ्ग स्टार युथ क्लबको भण्डारी टोल भलिबल कोर्टमा सुरु भएको नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता अन्तर्गत विहीबार सम्पन्न खेलबाट पाँच टिम अघिल्लो चरणमा प्रवेश गरेका छन्।
विहीबारको पहिलो खेलमा बागलुङ ढोरपाटन समूह र पोखरा महानगरपालिका वडा नं. २६ घैटेखोर बीच प्रतिस्पर्धा भएको थियो। खेलमा ढोरपाटन समूहले २५–१८ र २५–१५ को सोझो सेट जित निकाल्दै अघिल्लो चरणमा स्थान सुरक्षित गर्यो।
दोस्रो खेलमा आयोजक राईजिङ्ग स्टार युथ क्लब ‘ए’ र रुपा गाउँपालिका वडा नं. ५ देउराली आमनेसामने भएका थिए। रोमाञ्चक खेलमा आयोजक टिमले २८–३०, २५–२२ र २७–२५ को सेट जित्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो।
तेस्रो खेल भण्डारढिक र मादी गाउँपालिका वडा नं. २ बीच भएको थियो। मादी–२ ले १३–२५, २७–२५ र २५–२२ को सेटमा जित निकाल्दै प्रतियोगितालाई निरन्तरता दियो।
चौथो खेलमा माछापुच्छ्रे गाउँपालिका वडा नं. १ (मिर्सा) र पोखरा महानगरपालिका वडा नं. २८ बीच प्रतिस्पर्धा भएको थियो। खेलमा वडा नं. २८ ले १८–२५, २५–१५ र २७–२५ को सेट जितसहित अघिल्लो चरणमा स्थान बनायो।
विहीबारको अन्तिम खेल पोखरा महानगरपालिका वडा नं. २१ र वडा नं. १९ बीच सम्पन्न भएको थियो। उक्त खेलमा वडा नं. २१ विजयी बन्दै अघिल्लो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक ईश्वर खत्री ले जानकारी दिए।
यसअघि बुधबार प्रतियोगिताको उद्घाटन राईजिङ्ग स्टार युथ क्लबका आजीवन संरक्षक तथा पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ ले ब्यानरमा हस्ताक्षर तथा रेफ्री बुद्धसिंहलाई बल हस्तान्तरण गर्दै गरेका थिए। उद्घाटन अवसरमा राईजिङ्ग स्टार युथ क्लब र लिटल फ्लावर एजुकेशनल सेकेन्डरी स्कुल बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो। कार्यक्रम क्लबका अध्यक्ष तिलबहादुर गुरुङ (अनिल) को अध्यक्षतामा सम्पन्न भएको हो।
शिक्षा, स्वास्थ्य, वातावरण, युवा तथा खेलकुद, महिला तथा बालबालिका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको राईजिङ्ग स्टार युथ क्लबले प्रत्येक वर्ष लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रमसँगै फुटबल, ब्याडमिन्टन तथा भलिबलजस्ता खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ।
प्रतियोगितामा १५ टिम सहभागी रहेका छन्। प्रतियोगिताको विजेता टिमले रु. १,११,१११, उपविजेताले रु. ५५,५५५ र तेस्रो हुने दुई टिमले जनही रु. १०,००० नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिब रु. ८ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने प्रायोजक, सह–प्रायोजक तथा सहयोगी संघ–संस्थाबाट करिब रु. १० लाख आम्दानी गर्ने लक्ष्य लिइएको छ। प्रतियोगिताबाट बचत हुने रकम भविष्यमा खेलकुद विकासमै खर्च गरिने क्लबले जनाएको छ। कार्यक्रम सञ्चालन क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङ ले गरेका थिए।




