नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता सुरु

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता सुरु

‘युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद—नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नाराका साथ नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।

पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीस्थित राईजिङ्ग स्टार युथ क्लबको आयोजनामा माघ २१ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता भण्डारी टोलस्थित भलिबल कोर्टमा सुरु भएको हो। प्रतियोगिताको उद्देश्य भलिबल खेलको विकास गर्नुका साथै खेलकुदमार्फत पोखराको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष तिलबहादुर गुरुङ (अनिल)को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा क्लबका आजीवन संरक्षक तथा पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले प्रतियोगिताको व्यानरमा हस्ताक्षर गर्दै रेफ्री बुद्धसिंहलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको औपचारिक उद्घाटन गरे।

सो अवसरमा वडा अध्यक्ष गुरुङले खेलाडीहरू अनुशासित भई सौहाद्रपूर्ण वातावरणमा खेल सञ्चालन गर्नुपर्नेमा जोड दिँदै प्रतियोगिता सम्पन्न गर्न वडाबाट तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए। साथै उनले प्रतियोगिताको सफलताको कामना व्यक्त गरे।

क्लबको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित प्रतियोगितामा बोल्दै पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले क्लब स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण, युवा, खेलकुद, महिला तथा बालबालिका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताए। युवालक्षित लागुऔषध सचेतना कार्यक्रमसँगै फुटबल, ब्याडमिन्टन लगायतका खेलकुद प्रतियोगिता हरेक वर्ष सञ्चालन हुँदै आएको पनि उनले उल्लेख गरे।

उद्घाटन खेलमा आयोजक राईजिङ्ग स्टार युथ क्लब र लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो। आयोजक टोलीले पहिलो सेट २५–२२ र दोस्रो सेट पनि २५–२२ ले जितेको थियो। प्रतियोगितात्मक खेलहरू भने बिहीबार बिहानदेखि सुरु हुने आयोजकले जनाएको छ।

प्रतियोगिता संयोजक ईश्वर खत्रीका अनुसार प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले रु. १,११,१११, उपविजेताले रु. ५५,५५५ र तृतीय स्थान हासिल गर्ने दुई टोलीले रु. १०/१० हजार पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिनेछ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिब आठ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने प्रायोजक, सह–प्रायोजक तथा सहयोगी संघ–संस्थाबाट करिब दस लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ। प्रतियोगिताबाट बचत हुने रकम भविष्यमा खेलकुदकै क्षेत्रमा खर्च गर्ने क्लबको उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले गरेका थिए।

सम्बन्धित खवर