कास्की क्षेत्र नम्बर २ अन्तर्गत आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।
गण्डकी प्रदेश नेपाली काँग्रेसका सभापति शुक्रराज शर्मा र प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद बास्तोलाले संयुक्त रूपमा कार्यालयको उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै सभापति शर्माले प्रजातन्त्र, व्यक्तिगत स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको सवालमा नेपाली काँग्रेसले कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पार्नुभयो। प्रजातान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने जो कोहीलाई काँग्रेसले आत्मसात् गर्न सक्ने पार्टी भएको उल्लेख गर्दै उहाँले हाल पार्टी नेतृत्व युवाको काँधमा पुगेकाले युवा मतदाताले एकपटक काँग्रेसलाई विश्वास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
सभापति शर्माले काँग्रेसले आफ्ना नीति तथा कार्यक्रमहरू युवामैत्री बनाउँदै स्वदेशमै उद्योग, व्यवसाय र रोजगारीका अवसर सिर्जना गर्ने वातावरण निर्माणमा केन्द्रित भएको बताउनुभयो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद बास्तोलाले जेनेरेसन–जी (Gen-Z) ले उठाएका मागहरू जायज भएको र ती माग सम्बोधन गर्न नेपाली काँग्रेस सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। युवालाई स्वदेशमै रोजगारीको सुनिश्चितता गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै उहाँले बढ्दो युवा पलायन रोक्न समयानुकूल उच्च शिक्षा र रोजगारीलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
मतदाताको घरदैलोमा पुग्दा पोखरामा फोहोर व्यवस्थापन, खानेपानी, ढल निकास, सडक निर्माण, शिक्षा, स्वास्थ्य, व्यापार–व्यवसाय, युवा रोजगारी, ज्येष्ठ नागरिकका समस्या तथा स्वास्थ्य बीमासम्बन्धी विषयहरू प्रमुख रूपमा उठ्ने गरेको बताउँदै उम्मेदवार बास्तोलाले यी सबै समस्याको प्रभावकारी समाधानका लागि आफू प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाउनुभयो।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति सोभियतबहादुर अधिकारीले आम नागरिकको भावना र आवश्यकता सम्बोधन गर्ने गरी काँग्रेस अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, काँग्रेस नेता राजेन्द्रनिधि कोइराला, पूर्ण तिमिल्सेना, देवकृष्ण पराजुली, गोविन्द पराजुली लगायतका वक्ताहरूले बदलिएको नेपाली काँग्रेसले देश परिवर्तन गर्न सक्ने भन्दै आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आह्वान गर्नुभयो।




