उम्मेदवार तिलक रानाभाटसँग विद्यार्थीको अन्तरक्रिया

उम्मेदवार तिलक रानाभाटसँग विद्यार्थीको अन्तरक्रिया

नेपाली कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटसँग विद्यार्थीहरूले भेटघाट तथा अन्तरक्रिया गरेका छन्। भेटघाटमा समसामयिक राजनीतिक अवस्था, युवा–विद्यार्थीको आवश्यकता, रोजगारी तथा विकास निर्माणका विषयमा खुला छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले देशमा रोजगारीका अवसर सिर्जना, पर्यटकीय सम्भावनाको उपयोग र शिक्षा तथा युवासँग जोडिएका अत्यावश्यक विषयमा आफ्ना धारणा र सुझाव राखेका थिए।

अन्तरक्रियामा बोल्दै उम्मेदवार रानाभाटले विद्यार्थीबाट प्राप्त सुझावहरू अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले युवा र विद्यार्थीको काँधमा नै देशको भविष्य रहेको भन्दै उनीहरूको आवाजलाई नीति तथा योजनामा समेटिने प्रतिबद्धता जनाए। देश र जनताको आवश्यकता नै आफ्ना प्राथमिक योजना हुने उनको भनाइ थियो। समृद्ध राष्ट्र निर्माणको अभियानमा सबैको साथ आवश्यक रहेको भन्दै उनले युवालाई सक्रिय भूमिका खेल्न आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य दीपक गुरुङ ‘माइला’, पोखरा महानगरपालिका वडा नं. २६ का कार्यसमिति सभापति शिव रानाभाट, विद्यार्थी नेताहरू रसिकहरी भण्डारी र विजय घिमिरेले मन्तव्य राखेका थिए।

यसैबीच, नेपाली कांग्रेस क्षेत्र नम्बर–१ कास्कीले चुनावी अभियानलाई थप प्रभावकारी बनाउन आइतबार पोखरा महानगरपालिका वडा नम्बर–२९ मा सम्पर्क कार्यालय स्थापना गरेको छ। क्षेत्रीय सचिव ओमप्रकाश गुरुङका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यालय स्थापना गरिएको हो।

सम्पर्क कार्यालयको उद्घाटन प्रजातन्त्र सेनानी भोजराज भण्डारी, केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार तिलक रानाभाट, केन्द्रीय सदस्य कृष्ण केसी र पूर्वमन्त्री यज्ञबहादुर थापाले संयुक्त रूपमा गरेका हुन्।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति–२९ का कार्यवाहक सभापति चिनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति रामबाबु भण्डारी, पूर्व जिल्ला सदस्य बिन्दु भण्डारी, विद्यार्थी नेत्री सोना राणा तथा वडा कार्यसमितिका सचिव पदम गुरुङले आ–आफ्नो धारणा राखेका थिए।

सम्बन्धित खवर