जनप्रिय बहुमुखी क्याम्पस पोखरामा उच्च शिक्षाको रूपान्तरणबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

जनप्रिय बहुमुखी क्याम्पस पोखरामा उच्च शिक्षाको रूपान्तरणबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नेपालमा उच्च शिक्षाको रूपान्तरण र विश्व प्रतिस्पर्धात्मक क्षमताको विकासबारे केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा आयोजना हुने भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको विशेष सहयोगमा जनप्रिय बहुमुखी क्याम्पस, पोखराको आयोजनामा यही २०८२ चैत १२, १३ र १४ गते (मार्च २५–२७, २०२६) सम्मेलन हुने घोषणा गरिएको हो।

“नेपालमा उच्च शिक्षाको रूपान्तरण: विश्व प्रतिस्पर्धात्मकताका मार्गहरू” (Transforming Higher Education in Nepal: Pathways to Global Competitiveness) विषयक सम्मेलनमा नेपालसहित भारत, चीन, थाइल्याण्ड र बंगलादेशका ख्यातिप्राप्त शिक्षाविद् तथा अनुसन्धानकर्ताहरू सहभागी हुनेछन्। उनीहरूले उच्च शिक्षामा देखिएका संरचनागत चुनौती, गुणस्तर, बजार सान्दर्भिकता र विद्यार्थी पलायन (Brain Drain) जस्ता विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताबाट ५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने जनाइएको छ। ती कार्यपत्रहरूमा गुणस्तर प्रत्यायन, डिजिटल रूपान्तरण, शैक्षिक सुशासन, स्वायत्तता र दिगो विकास लक्ष्यजस्ता समसामयिक विषय समेटिने छन्।

आयोजकका अनुसार सम्मेलनका क्रममा उच्च शिक्षाको नीतिगत सुधार र अनुसन्धान प्रवर्द्धनका लागि दुईवटा उच्चस्तरीय प्यानल छलफल पनि सञ्चालन गरिनेछ। ती छलफलबाट निस्कने निष्कर्षले विश्वविद्यालय तथा नीति निर्माण तहलाई भविष्यको रणनीति तय गर्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

नेपाल सरकार, शिक्षा मन्त्रालयबाट २०७२ र २०७३ सालमा उत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा पुरस्कृत तथा UGC नेपालबाट दुई पटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त जनप्रिय बहुमुखी क्याम्पसले यस सम्मेलनमार्फत पोखरालाई प्राज्ञिक तथा अनुसन्धानको केन्द्रको रूपमा ब्रान्डिङ गर्ने लक्ष्य लिएको छ।

सम्मेलनले कक्षा कोठामा सीमित शिक्षण पद्धतिबाट बाहिर निस्केर अनुसन्धानमुखी, प्रविधिमैत्री र उत्पादनसँग जोडिएको उच्च शिक्षा प्रणाली विकास गर्न टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सम्बन्धित खवर