विराटनगरको रात्रिकालीन प्रकाशमा चम्किएको रेडस्टार : फुटबलको मैदानमा ऐतिहासिक क्लिन स्विप

विराटनगरको रात्रिकालीन प्रकाशमा चम्किएको रेडस्टार : फुटबलको मैदानमा ऐतिहासिक क्लिन स्विप

दाैडमा एन्जिला, नितेष र नितिषकाे सफलता

पथरी/उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) मोरङको आयोजनामा अायाेजित ‘हिसान स्पोर्ट्स मिट २०८२’ को मैदानमा पथरीस्थित रेडस्टार अावासीय माविले आफ्नो स्वर्ण युगको सुरुवात गरेको छ। शनिबार राति विराटनगरको सहिद मैदानमा सम्पन्न फुटबलको महाभिडन्तमा रेडस्टारले छात्र र छात्रा दुवैतर्फका उपाधि आफ्नो पोल्टामा पार्दै ‘क्लिन स्विप’ गरेको हो।

छात्रा फुटबल: स्मृतिको ह्याट्रिक र रेडस्टारको ऐतिहासिक जित

छात्रातर्फको फाइनल खेलमा रेडस्टारले अर्किड कलेज, विराटनगरमाथि ७–० को फराकिलो अन्तरले ऐतिहासिक जित निकाल्यो। रेडस्टारको यो एकपक्षीय जितको मुख्य नायिका स्मृति राई बनिन्, जसले सानदार ह्याट्रिकसहित ३ गोल गरिन्। त्यस्तै सुहाना राईले २ गोल तथा रेजिना थापा र सलिजा राईले १–१ गोलको योगदान दिए ।

प्लेयर अफ द टुर्नामेन्ट: स्मृति राई, हाइ स्कोरर: सुहाना राई, उत्कृष्ट गोलकिपर: नामसिना लिम्बू, उत्कृष्ट मिडफिल्डर: सलिजा राई

छात्र फुटबल : सागरको त्यो निर्णायक बचाउ 

रात्रिकालीन समयमा फ्लड लाइटको प्रकाशमा खेलिएको छात्रतर्फको फाइनल निकै प्रतिस्पर्धात्मक रह्यो । निर्धारित समयमा रेडस्टार र शिक्षा सन्देश कलेज १–१ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

टाइब्रेकरमा रेडस्टारका मनिष लिम्बू, रुद्र योगी, रिशव मगर, सौगात राई र प्रशान्त तामाङले गोल गर्दै टोलीलाई ५–४ को अग्रता दिलाए। शिक्षा सन्देशका अनुप धिमालको प्रहारलाई रेडस्टारका गोलरक्षक सागर दर्नालले उत्कृष्ट बचाउ गरेपछि रेडस्टारको जित सुनिश्चित भयो ।

छात्रा भलिबलमा पनि च्याम्पियन

शनिबार बिहान डिपियस स्कुल मैदानमा भएकाे छात्रा भलिबल खेलमा पनि रेडस्टार च्याम्पियन बनेकाे छ । उसले राष्ट्रनिर्माण सेकेन्डरी स्कुल, रतुवामाईलाई ३–०  काे साेझाे सेटमा पराजित गर्दै छात्रा भलिबलमा पनि उपाधि चुमेकाे हाे ।

दाैडमा एन्जिला दाेस्राे, नितेष र नितिष तेस्राे बने

जिल्लास्तरीय उक्त प्रतियाेगितामा छात्रा १०० मिटर दाैडमा कक्षा १२ की एन्जिला दाेस्राे भइन् भने छात्र १०० र २०० मिटर दाैडमा कक्षा ११ का नितेष राइ र नितिष राइ तेस्राे बन्न सफल भए ।

“विद्यार्थीको सफलता नै कलेजको प्रतिष्ठा”

रेडस्टारको यो बहुअायामिक सफलतामा खुसी व्यक्त गर्दै निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले भन्नुभयो : “हाम्रा खेलाडीहरूले सहिद मैदानमा देखाएको यो उत्साह र कौशलले रेडस्टारलाई खेलकुदको क्षेत्रमा नयाँ उचाइमा पुर्‍याएको छ। छात्रातर्फको एकपक्षीय जित र छात्रतर्फको  संघर्षले हाम्रो संस्थाकाे उत्कृष्ट टिम स्प्रिटलाई झल्काउँछ। भलिबल र फुटबलका दुवै विधामा उपाधि जित्ने श्रेय विद्यार्थी र प्रशिक्षकहरूको कडा मेहनतलाई जान्छ।”

व्यक्तिगत विधामा रेडस्टारको वर्चस्व

फुटबलको दुवै विधामा च्याम्पियन बनेको रेडस्टारका खेलाडीहरूले व्यक्तिगत विधामा पनि पुरस्कारको ओइरो लगाए । सागर दर्नालको ‘सेभ’ र स्मृतिको ‘ह्याट्रिक’ हिसान स्पोर्ट्स मिट २०८२ का स्मरणीय क्षणहरू बनेका छन्। यो जितसँगै रेडस्टारले पढाइसँगै खेलकुदमा समेत राष्ट्रिय स्तरकै प्रतिभा उत्पादनमा थप हाैसला बढारहेकाे छ ।

भव्य बन्याे पुरस्कार वितरणसहितकाे समापन समाराेह

उक्त खेलकुद सप्ताह भव्यताका साथ सम्पन्न भएकाे छ । समापन समाराेहमा  हिसानका नवनिर्वाचित केन्द्रीय अध्यक्ष युवराज शर्मा, हिसान माेरङका अध्यक्ष अमित ढकाल, हिसानका केन्द्रीय सचिवद्वय राजेश कार्की र बलराम पन्त, केन्द्रीय उपाध्यक्ष मुकुन्द घिमिरे लगायतले  पुरस्कार वितरण गर्नुभयाे । कार्यक्रमकाे  अध्यक्षता हिसान माेरङका अध्यक्ष अमित ढकालले गर्नुभयाे भने स्वागत मन्तव्य हिसान माेरङका वरिष्ठ उपाध्यक्ष टि.एन. तिम्सिनाले राख्नुभयाे । कार्यक्रम  हिसान माेरङका सचिव भुवन नेपाल र उपाध्यक्ष गाेविन्द निराैलाले संयुक्त रूपमा गर्नुभएकाे अायाेजकले जानकारी दिएकाे छ ।  (केशव भारद्वाज)

सम्बन्धित खवर