सहारा क्लब पोखराको आयोजनामा हुने २५औँ संस्करणको आहा–रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा १२ टोली सहभागी हुने भएका छन्। प्रतियोगिता माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगितामा सहभागी हुने टोलीहरूको विवरण सार्वजनिक गरेको हो। प्रतियोगितामा नेपालका शीर्ष क्लबहरू मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र आयोजक सहारा क्लब पोखरा सहभागी हुनेछन्।
यसैगरी अन्तर्राष्ट्रिय सहभागिताअन्तर्गत भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र भारतकै अर्को एक क्लब, हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब, तथा उज्बेकिस्तानको आभा फुटबल क्लब ले प्रतिस्पर्धा गर्नेछन्।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरका रूपमा स्थापित गरौँ’ भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगितामा यसपटक पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरिएको छ। प्रतियोगिताको विजेता टोलीले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। अघिल्लो २४औँ संस्करणमा विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाएका थिए।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन ‘आहा’ र ‘रारा’ तयारी चाउचाउ रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ (एन्फा), प्रदेश खेलकुद परिषद गण्डकी र एन्फा कास्की लगायतका निकायको सहकार्य रहेको आयोजकले जनाएको छ।
पोखरा पर्यटन वर्ष २०२५–२६ लाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यसपटक रंगशालामा अस्थायी फ्लडलाइट जडान गरी संध्याकालीन खेलहरू सञ्चालन गरिने पनि आयोजकले जानकारी दिएको छ।




