नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कास्की क्षेत्र नम्बर–२ अन्तर्गत पोखरा महानगरपालिका–३३ बागमारामा शनिबार सम्पर्क कार्यालय स्थापना गरेको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्रीत गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यालय खोलिएको पार्टीले जनाएको छ।
चुनावी तयारीका क्रममा नेकपाले पोखरा–२० मा बैठक आयोजना गरेको छ भने कास्की–२ का उम्मेदवार किरण थापाले भूमिहीन तथा सुकुम्बासी समुदायसँग भेटघाट गरेका छन्।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेकपा नेता श्रीनाथ बरालले नेकपा लोकतन्त्र, कम्युनिष्ट आन्दोलन र राष्ट्रियताको मूलधार भएको दाबी गरे। उनले भने, “सशस्त्र संघर्ष र शान्तिपूर्ण राजनीतिबाट आएका सबै शक्ति आज नेकपामा एकीकृत छन्। अबको नेपालको नेतृत्व गर्ने क्षमता नेकपाले राख्छ।”
कार्यक्रममा बोल्दै कास्की–२ का नेकपा उम्मेदवार किरण थापाले मुलुक संकटमोचनको चरणमा रहेको भन्दै यही निर्वाचनबाट जनताले सही नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे। उनले भने, “पुरानाहरूको दुई तिहाइको दम्भले देशलाई ठूलो क्षति पुर्यायो। नयाँ हुँ भनी दाबी गर्नेहरू ठगी आरोपमा मुछिएका छन् र सुकुम्बासी बस्तीमा डोजर चलाइरहेका छन्। यस्तो नयाँ हावाले पनि देशलाई निकास दिन सक्दैन। अहिलेको समस्याको समाधान नेकपासँग मात्र छ।”
कार्यक्रममा नेकपा नेता नेत्रनाथ अधिकारी, खड्ग हमाल तथा समानुपातिक उम्मेदवार ज्ञानु आचार्यले पनि मन्तव्य राख्दै निर्वाचनमा नेकपाको विकल्प नभएको बताए।
नेकपाले आगामी दिनमा घरदैलो, मतदाता भेटघाट तथा विभिन्न जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाउने जनाएको छ।




