नेता अग्रवाल रास्वपामा प्रवेश

नेता अग्रवाल रास्वपामा प्रवेश
तीन दशकभन्दा बढी समय नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर सक्रिय राजनीति गर्दै आएका कांग्रेस मोरङका नेता तथा रंगेली निवासी बजरंग अग्रवालले पार्टीभित्र बढ्दो गुटबन्दीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस परित्याग गरेका छन्।
अग्रवालले सामाजिक सञ्जालमार्फत आफूले नेपाली कांग्रेसको महासमिति सदस्य तथा साधारण सदस्य दुवै पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्। राजीनामासँगै उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन्।
उनलाई रास्वपाका केन्द्रीय सदस्य डा. प्रकाशचन्द्र परियार र निशा मेहताले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्।
नवप्रवेशी नेता अग्रवालले लामो समयसम्म कांग्रेसभित्र इमान्दारीपूर्वक काम गरे पनि पछिल्लो समय पार्टीभित्र देखिएको चरम गुटबन्दीका कारण निराश भएको बताएका छन्। उनले वैकल्पिक राजनीतिक संस्कार, पारदर्शिता र सुशासनको प्रतिबद्धताका साथ रास्वपामा सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन्।
रास्वपा मोरङका नेताहरूले अग्रवालको प्रवेशले विशेषगरी मोरङ निर्वाचन क्षेत्र नं. ५ मा पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। स्थानीय तहदेखि संघीय निर्वाचन क्षेत्रसम्म रहेको उनको पुरानो राजनीतिक नेटवर्क र व्यापक जनसम्पर्क पार्टीका लागि महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।
यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार रहेकी रास्वपाकी आशा झाका लागि पनि यो प्रवेशलाई सकारात्मक रूपमा हेरिएको छ। पार्टी स्रोतका अनुसार नयाँ समर्थन आधार विस्तारसँगै आगामी निर्वाचनमा झाको प्रतिस्पर्धी क्षमता अझ मजबुत हुने आकलन गरिएको छ।
यस विषयमा हालसम्म नेपाली कांग्रेसको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन। तर पछिल्लो समय विभिन्न जिल्लामा नेताहरूको दल परिवर्तनको क्रम बढ्दै गएको सन्दर्भमा अग्रवालको पार्टी परिवर्तनलाई राजनीतिक रूपमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।

सम्बन्धित खवर