होराइजन क्लब र नेपाल प्रहरी गण्डकी २६ औँ आदर्श कपको फाइनलमा

होराइजन क्लब र नेपाल प्रहरी गण्डकी २६ औँ आदर्श कपको फाइनलमा

कास्कीको लेखनाथमा जारी २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको उपाधिका लागि होराइजन क्लब स्याङ्जा र नेपाल प्रहरी गण्डकी प्रदेश आमनेसामने हुने भएका छन्।

माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा होराइजन क्लब स्याङ्जाले जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको टिकट सुरक्षित गरेको हो। यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशले तनहुँ जिल्ला फुटबल विकास समितिलाई पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको थियो।

बुधबारको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। खेलको ७३औँ मिनेटमा होराइजन क्लब स्याङ्जाका जर्सी नं. ११ का टिकाराज गुरुङले गरेको गोल नै निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गर्दै गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए र उनले नगद रु. ५ हजार पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको फाइनल खेल माघ १६ गते दिनको १ बजे आयोजना हुनेछ। फाइनलमा विजयी हुने टोलीले रु. ४ लाख ९९ हजार ९९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ३ लाख ३३ हजार ३३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।

आदर्श युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताले स्थानीय खेलप्रेमीको उल्लेखनीय सहभागिता र उत्साह पाएको छ।

सम्बन्धित खवर