रवि लामिछाने अस्पतालमा

रवि लामिछाने अस्पतालमा

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ। माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा सहभागी हुने क्रममा उहाँको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) भएको सचिवालयले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार उक्त संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखी चिकित्सकको निगरानीमा उपचार आवश्यक ठहर गरिएको हो। सोहीअनुसार सभापति लामिछाने हाल अस्पतालमै उपचाररत रहनुभएको छ।

चोट आफैंमा गम्भीर नरहे पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्यमा सुधार आएपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने सचिवालयले स्पष्ट पारेको छ।

सभापति लामिछाने सार्वजनिक रूपमा नदेखिनु भएको विषयमा चासो, चिन्ता तथा शुभेच्छा व्यक्त गर्ने सबैप्रति सचिवालयले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् र अस्पताल प्रशासनलाई असहज नहोस् भन्ने उद्देश्यले भेटघाटका लागि अस्पताल नआइदिन सबैमा विनम्र अनुरोध गरिएको छ।

सम्बन्धित खवर