विद्यार्थीलाई लायन्स फेवा फुलबारीको सहयोग

विद्यार्थीलाई लायन्स फेवा फुलबारीको सहयोग

लायन्स क्लब अफ पोखरा फेवा फुलबारीले पोखराका दुई वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सहयोग पुर्‍याउने उद्देश्यले पोखरा–आटीघरस्थित सीता आधारभूत विद्यालय र ज्ञानोदय रघु आधारभूत विद्यालयका करिब ३० जना विद्यार्थीलाई विद्यालय झोलासहित विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष लायन गोविन्द अधिकारीले जानकारी दिए।

शैक्षिक सामग्री वितरण कार्यक्रममा शिक्षासेवी अञ्जु कँडेल, क्लबका पूर्व अध्यक्ष लायन माधवप्रसाद कँडेल, लायन राम पौडेललगायतले सहभागिता जनाएका थिए।

कार्यक्रममा बोल्दै शिक्षासेवी कँडेलले शिक्षा, स्वास्थ्यलगायत मानवीय सेवाका क्षेत्रमा लायन्स क्लबले खेलेको भूमिका अनुकरणीय रहेको बताइन्। क्लबका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सीता आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश सुवेदी, ज्ञानोदय रघु आधारभूत विद्यालयका प्रधानाध्यापक सागर केसी तथा शिक्षक शारदा अधिकारीले यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल उच्च हुने बताएका थिए।

सोही अवसरमा क्लबले विपन्न अवस्थाकी मानसिक रोगबाट ग्रस्त एक महिलाको परिवारलाई आर्थिक सहयोगसमेत प्रदान गरेको जनाएको छ। साथै क्लबका पूर्व अध्यक्ष माधव कँडेलले आफ्नो जन्मदिनको अवसरमा सामाजिक कार्यका लागि नगद १० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए।

कार्यक्रमको सञ्चालन कोषाध्यक्ष दिनेश आचार्यले गरेका थिए भने कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित खवर