पोखराका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी मनोज थापाको असामयिक निधन भएको छ । स्वास्थ्य सम्बन्धी समस्याका कारण थापाको ५१ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएको हो ।
२०३१ साल भदौ २४ गते जन्मिएका थापा पोखरा वर्ल्ड स्कुलको सञ्चालक समिति सदस्य र सुपर घलेम्दी हाइड्रोपावर लिमिटेडका निर्देशक थिए । साथै, उनी अमेरिकाको क्यालिफोर्नियास्थित एस एण्ड जी इन्टरप्राइजेजका प्रबन्ध निर्देशक समेत थिए ।
उनकी श्रीमती मोनिका थापा, छोरी सेजल थापा र छोरा गिर्वाणजंग थापा छन् । पोखरा वर्ल्ड स्कुलकी निर्देशक मोनिका व्यवसायसँगै सामाजिक सेवामा सक्रिय छिन् । मनोज स्व. सप्तबहादुर थापा र स्व. ललिता थापाका ५ भाइमध्ये कान्छा छोरा हुन् । उनका पिताले विश्व हिन्दु महासंघको नेतृत्वसहित धार्मिक तथा सामाजिक क्षेत्रमा ठूलो योगदान दिएका थिए । मनोजका दाजु रिवबहादुर थापा क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष हुन् ।
मनोज व्यवसायमा मात्र नभई कला र सिर्जनाका पारखी समेत थिए । फुर्सदको समयमा ‘पेन्टिङ’ गर्न रुचाउने उनी खेल क्षेत्रमा पनि उत्तिकै परिचित हुन् । उनी टेनिस खेलाडी हुन् । जेठा दाजु रिवबहादुर मनोजलाई बाल्यकालदेखि नै निकै लगनशील र मेहनती व्यक्तिका रुपमा चिन्छन् । उनले सुरुवाती चरणमा ट्रेडिङ र हार्डवेयरको व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेका थिए ।
त्यसपछि हाइड्रोपावर लगायतका ठूला परियोजनामा लगानी गर्दै उनी सफल व्यवसायीका रूपमा स्थापित भएका थिए ।
थापाको निधनले पोखराको व्यावसायिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न संघसंस्था तथा शुभचिन्तकहरूले दुःख व्यक्त गरेका छन् । उनको कुडहरस्थित निवासबाट शवयात्रा निकाली मंगलबार पोखराको रामघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।




