नेपाल प्रहरी गण्डकी प्रदेश २६औँ आदर्श कपको फाइनलमा

नेपाल प्रहरी गण्डकी प्रदेश २६औँ आदर्श कपको फाइनलमा

 

नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा तनहुँ जिल्ला फुटबल विकास समितिलाई पराजित गर्दै प्रहरीले उपाधि नजिकको यात्रा तय गरेको हो।

प्रतिस्पर्धात्मक खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशका जर्सी नम्बर १० का खेलाडी विवेक गुरुङले खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो। उक्त गोलसँगै प्रहरीले तनहुँलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो।
मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल प्रहरीका जर्सी नम्बर ४४ का खेलाडी रोजल दाहाल ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

अब नेपाल प्रहरी गण्डकी प्रदेशको टोलीले माघ १६ गते हुने फाइनल खेलमा होराइजन क्लब स्याङ्जा र जिल्ला खेलकुद विकास समिति म्याग्दीबीच हुने सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

आदर्श युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको २६औँ आदर्श कप फुटबल प्रतियोगितामा प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९ सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३ सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

सम्बन्धित खवर