लेखनाथ होटल तथा रेष्टुरेन्ट एशोसिएसनको अध्यक्षमा सुरेस लामिछाने

लेखनाथ होटल तथा रेष्टुरेन्ट एशोसिएसनको अध्यक्षमा सुरेस लामिछाने

साविक लेखनाथ नगर क्षेत्रभित्र सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको साझा संस्था होटल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथको १८औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट सुरेस लामिछाने अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्।

सोमबार सम्पन्न अधिवेशनले हाल महासचिवको जिम्मेवारी सम्हालिरहेका लामिछानेलाई आगामी कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विष्णुहरि सुवेदी, महासचिवमा शक्तिश्री कोइराला, कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा रोजेन्द्र सुवेदी चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा प्रकाश सापकोटा, निर्मला थकाली, अमृत लामिछाने, रविभक्त थापा, अनिल ढकाल र ओमश्री मगर रहेका छन्। नयाँ कार्यसमितिले लेखनाथ–बेगनास क्षेत्रको पर्यटन प्रवर्द्धन, होटल व्यवसायको स्तरोन्नति तथा व्यवसायीका साझा समस्या समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरामा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन आसपासका पर्यटकीय गन्तव्यहरूको विकास अपरिहार्य रहेको बताए। उनले बेगनासताल क्षेत्रलाई ‘नयाँ पोखरा’का रूपमा विकास गर्दै साहसिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटन गतिविधि विस्तार गर्न सके गण्डकी प्रदेशको पर्यटन थप मजबुत बन्ने धारणा राखे।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले स्थानीय तह पर्यटन पूर्वाधार विकासमा सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए। लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारीले होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै व्यवसायीको हकहित संरक्षण र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा एशोसिएसनको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताइन्।

त्यस्तै पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरी भुजेल, पोखरा महानगरपालिका व्यवसायिक प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी तथा पोखरा भ्रमण वर्षका सह–संयोजक दामोदर भक्त थापालगायत वक्ताहरूले पोखरा, लेखनाथ र बेगनास आसपासका पर्यटकीय गन्तव्यहरूको प्रभावकारी प्रचार–प्रसार गर्न सके पर्यटकको बसाइ अवधि बढ्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

कार्यक्रम एशोसिएसनका अध्यक्ष विरभद्र कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा कोषाध्यक्ष शक्तिश्री कोइरालाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्यय पारदर्शी रहेको जानकारी दिए भने महासचिव सुरेस लामिछानेले वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रमहरू प्रस्तुत गर्दै पर्यटनमैत्री कार्यक्रम, तालिम, सरसफाइ अभियान र सदस्य हितका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए।

लेखनाथ क्षेत्रका करिब सयभन्दा बढी होटल व्यवसायी आबद्ध रहेको एशोसिएसनको साधारण सभाका लागि गठन गरिएको निर्वाचन मण्डलको संयोजकमा दामोदर भक्त थापा तथा सदस्यहरूमा पूर्व अध्यक्ष कृष्णप्रसाद तिमिल्सेना र अर्जुन लम्साल रहेका थिए।
सोही अवसरमा बेगनासताल किनारस्थित माझिकुनालाई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सूर्य लामिछानेलाई विशेष सम्मान गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष सुरेस लामिछानेले सबै व्यवसायीलाई एकताबद्ध गर्दै लेखनाथ–बेगनास क्षेत्रलाई गुणस्तरीय र आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित खवर