म्याग्दी जिल्ला खेलकुद विकास समिति सेमिफाइनलमा प्रवेश

म्याग्दी जिल्ला खेलकुद विकास समिति सेमिफाइनलमा प्रवेश

 

कास्की जिल्ला पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित लेखनाथ रङ्गशालामा जारी २६ औँ आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा म्याग्दी जिल्ला खेलकुद विकास समिति सेमिफाइनलमा प्रवेश गरेको छ।

फर्स्ट च्वाईस फुड्स लिमिटेडको मुख्य प्रायोजन तथा आदर्श युथ क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा म्याग्दीले सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल भएको थियो। खेलका अधिकांश समय दुवै पक्षले सिर्जना गरेका अवसरहरू गोलमा परिणत हुन सकेनन्। खेलको ८२ औँ मिनेटमा म्याग्दीका सनम बिकले बक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएपछि म्याग्दीले निर्णायक अग्रता लिएको थियो।

सनम बिकको उक्त गोल नै खेलको निर्णायक गोल बनेको थियो। उत्कृष्ट प्रदर्शन गरेका उनले म्यान अफ द म्याच घोषित हुँदै नगद रु ५,००० सहित ट्रफी प्राप्त गरे।

यस जितसँगै म्याग्दी जिल्ला खेलकुद विकास समितिले अब दोस्रो सेमिफाइनल खेलमा होराइजन क्लब वालिङ, स्याङ्जासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल मङ्गलबार दिनको ठीक १ बजे लेखनाथ रङ्गशालामा नेपाल प्रहरी गण्डकी र जिल्ला फुटबल सङ्घ (एन्फा) तनहुँबीच हुने आयोजकले जनाएको छ।

मोफसलका चिरपरिचित आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद रु ४,९९,९९९ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३,३३,३३३ प्राप्त गर्नेछ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई जनही रु १५,००० प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २५,००० नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको समापन माघ १६ गते हुने आयोजक समितिले जानकारी दिएको छ।

सम्बन्धित खवर