कास्की–१ मा कांग्रेसको चुनावी प्रचार सुरु, रानाभाटको पक्षमा घरदैलो अभियान

कास्की–१ मा कांग्रेसको चुनावी प्रचार सुरु, रानाभाटको पक्षमा घरदैलो अभियान

 

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले औपचारिक रूपमा आफ्नो चुनावी प्रचार अभियान सुरु गरेको छ। सोमबार पोखरा महानगरपालिका–२६ कालिकाचोकमा क्षेत्रीय चुनावी कार्यालयको उद्घाटन गर्दै कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो रणनीति र कार्ययोजना सार्वजनिक गरेको हो।

कांग्रेसले कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलकबहादुर रानाभाटको नेतृत्वमा विभिन्न उपसमितिहरू गठन गर्दै क्षेत्रका विभिन्न स्थानमा घरदैलो अभियान पनि सुरु गरिसकेको छ। प्रचार अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा जनसमर्थन जुटाउने लक्ष्य लिइएको छ।

चुनावी घोषणा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेले सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर उम्मेदवार रानाभाटलाई विजयी गराउन लाग्न आग्रह गरे। उनले कास्की–१ का सम्पूर्ण मतदातालाई कांग्रेसको पक्षमा मतदान गर्न अनुरोध समेत गरे।

पूर्व सभामुख तारानाथ रानाभाटको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सयौंको संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिवहरू ओमप्रकाश गुरुङ र सरोज केसीले गरेका थिए।

नेपाली कांग्रेसले आगामी दिनहरूमा चुनावी सभा, भेटघाट तथा घरदैलो कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै प्रचार अभियानलाई तीव्रता दिने जनाएको छ।

सम्बन्धित खवर