लक्ष्य हासिल गर्दै सम्पन्न भयो १४ औँ पोखरा महोत्सव

लक्ष्य हासिल गर्दै सम्पन्न भयो १४ औँ पोखरा महोत्सव

सामाजिक उत्तरदायित्व, स्थानीय उत्पादनको प्रवर्द्धन र सांस्कृतिक मनोरञ्जनलाई एउटै थलोमा समेट्दै १४ औँ पोखरा महोत्सव लक्ष्य हासिल गर्दै सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। गत पुष २९ देखि माघ ११ गतेसम्म सञ्चालन भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विशेष समारोहका बीच समापन गरे।

समापन समारोहमा बोल्दै मेयर आचार्यले पोखरा महोत्सवलाई पोखराकै पृथक र उत्कृष्ट महोत्सवका रूपमा वर्णन गरे। “पोखरा महोत्सवलाई महानगरले रातो किताबमै समावेश गरेर अगाडि बढाइरहेको छ,” उनले भने। साथै, पोखरा–२७ मा युनाइटेड क्लबले निर्माण गरिरहेको युनाइटेड छात्रावासका लागि महानगरको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। युनाइटेड क्लबले निरन्तर गर्दै आएको सामाजिक कार्यको उनले खुलेर प्रशंसा गरे।

महोत्सवले सामाजिक क्षेत्रमै ठोस प्रभाव पार्दै आएको उल्लेख गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले खुला चिडियाखाना निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा युनाइटेड क्लबको योगदान सराहनीय रहेको बताए। महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आफ्नो पालिकाका कृषकलाई सहभागी गराइएकोमा उनले धन्यवाद व्यक्त गरे।

महोत्सवका मुख्य प्रायोजक रवि एण्ड शन्नी इण्डष्ट्रिज प्रा.लि.को उत्पादन बेटरका निर्देशक विनोद रौनियारले विगत ६ वर्षदेखि पोखरा महोत्सवसँग सहकार्य गर्न पाउँदा गर्व लागेको बताए। आगामी दिनमा पनि युनाइटेड क्लबका सामाजिक अभियानमा सहकार्य निरन्तर रहने उनको भनाइ थियो।

स्थानीय तहका जनप्रतिनिधिहरूले पनि महोत्सवलाई सामाजिक परिवर्तनको अभियानका रूपमा चित्रित गरे। पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्कीले युनाइटेड क्लबले निर्माण गरेको छात्रावासको अपनत्व महानगरले लिनुपर्ने बताए भने वडा नं. १५ का अध्यक्ष तोरण बानियाँले महोत्सवले स्थानीय उत्पादन प्रवर्द्धनमा ठूलो टेवा पुर्‍याएको उल्लेख गरे।

युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरामा खुला चिडियाखाना निर्माणमा क्लबले विशेष पहल गर्दै आएको स्मरण गराउँदै, १४ औँ महोत्सवदेखि युनाइटेड छात्रावास निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताए। छात्रावाससम्म पुग्ने सडक निर्माणका लागि पोखरा–२७ र २८ जोड्ने मार्गमा पहल गरिदिन उनले मेयर आचार्यसँग आग्रहसमेत गरे।

क्लबका अध्यक्ष लोकबहादुर थापाले महोत्सव सफल हुनुमा दर्शकको मुख्य भूमिका रहेको बताए। “महोत्सवबाट उठेको रकम सामाजिक कार्यमै खर्च गरिन्छ, त्यसैले यहाँ उपस्थित हरेक दर्शक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाम्रो सामाजिक अभियानका सहयात्री हुनुहुन्छ,” उनले भने।

महोत्सवअन्तर्गत आयोजित टिकटक प्रतियोगिताको उपाधि गोले लामाले जित्दै नगद २५ हजार प्राप्त गरे। उनले उक्त सम्पूर्ण रकम क्यान्सर पीडित कास्की भुर्जुङखोला निवासी दिलमाया नेपालीलाई सहयोगस्वरूप प्रदान गरेर मानवीय उदाहरण प्रस्तुत गरे।

यसैगरी, बेटर होम एप्लायन्सको स्टलबाट खरिद गर्ने उपभोक्तामध्ये भाग्यशाली विजेताहरूले एसी, वाटर डिस्पेन्सर, चिम्नी, भ्याकुम क्लिनर लगायत आकर्षक उपहार प्राप्त गरे।

१३ दिनसम्म सञ्चालन भएको महोत्सवमा २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए भने ९ करोड रुपैयाँभन्दा बढी कारोबार भएको आयोजकले जनाएको छ। महोत्सवका प्रचार–प्रसार संयोजक दिनेश सुनारका अनुसार राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको दैनिक प्रस्तुति र साँझको लाइभ कन्सर्टले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्‍यो।

स्थानीय उत्पादन, हस्तकला र कृषिजन्य सामग्रीलाई विशेष स्थान दिइएकाले महोत्सव दर्शकको मन जित्न सफल भएको आयोजकको निष्कर्ष छ।

यसरी, मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व बोकेको १४ औँ पोखरा महोत्सव पोखराको पहिचान र सामाजिक अभियानलाई अझ सशक्त बनाउँदै सफलतापूर्वक सम्पन्न भएको छ।

सम्बन्धित खवर