पोखरा महानगरपालिका वडा नम्बर–२९ भण्डाढीकमा रहेको जनप्रकाश माध्यमिक विद्यालयले खुल्ला माध्यमिक तह स्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ।
विद्यार्थीहरूमा विज्ञान विषयप्रति अभिरुचि वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिका वडा नम्बर–२९ को आर्थिक सहयोग तथा जनप्रकाश माविको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै वडा नम्बर–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले विद्यार्थीहरूको सर्वाङ्गीण विकास र विज्ञान विषयमा उत्कृष्ट नतिजा प्राप्त गर्न यस्ता कार्यक्रमहरू कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगितामा ११ विद्यालयका १४ समूहले सहभागिता जनाएका थिए। प्रतिस्पर्धात्मक खेलमा डाइमण्ड माध्यमिक विद्यालय प्रथम, त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल द्वितीय र रिलायन्स पब्लिक सेकेन्डरी स्कुल तृतीय स्थान हासिल गर्न सफल भए। त्यस्तै, डाइमण्ड मोडल सेकेन्डरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ।
विद्यालय व्यवस्थापन समिति सदस्य होमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्मा, कास्की विज्ञान शिक्षक समाजका उपाध्यक्ष सुनिल न्यौपाने तथा जनप्रकाश माविका गणित विभागीय प्रमुख कृष्णप्रसाद पौडेल लगायतले विज्ञान र प्रविधी ज्ञान वर्तमान समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै यस्ता शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूको सिप र क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।




