कास्कीको लेखनाथमा जारी २६ औँ आदर्श कप फुटबल प्रतियोगितामा एन्फा तनहुँ सेमिफाइनलमा प्रवेश गरेको छ। आदर्श युवा क्लबको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भइरहेको प्रतियोगिताको तेस्रो दिन सम्पन्न खेलमा एन्फा तनहुँले गन्नी एफसी पर्वतलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
आइतबार भएको खेलमा एन्फा तनहुँका जर्सी नम्बर ९ का सञ्जय श्रेष्ठले खेलको २६ औँ मिनेटमा डि–एरियाबाट उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलको ५५ औँ मिनेटमा गन्नी एफसीका सजिन थापाले प्रहार गरेको बल गोलपोष्टको जाली चुमेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।
दुवै टोलीबाट आक्रामक खेल प्रस्तुत भइरहँदा खेलको ७१ औँ मिनेटमा गन्नी एफसीबाट भएको आत्मघाती गोल नै निर्णायक बन्न पुग्यो र सोही गोलसँगै गन्नी एफसी प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका एन्फा तनहुँका गोलकिपर तोरण हिसान ‘म्यान अफ द म्याच’ घोषित भए। हालसम्म प्रतियोगिताको सेमिफाइनलमा कास्की ११, होराइजन क्लब वालिङ र एन्फा तनहुँ प्रवेश गरिसकेका छन्। बाँकी अन्तिम सेमिफाइनल प्रवेशका लागि सोमबार म्याग्दी जिल्ला र सशस्त्र प्रहरी बलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
“निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९ सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३ सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ।
त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई रु. २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने अन्य विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई रु. १५ हजार नगदसहित सम्मान गरिने आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिएका छन्।




