कास्कीको लेखनाथमा शुक्रबारदेखि सुरु भएको २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगितामा स्याङ्गजाको होराइजन क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ।
शनिबार सम्पन्न खेलमा होराइजन क्लबले आयोजक आदर्श युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। होराइजनका जर्सी नम्बर १७ का खेलाडी विश्व थापाले खेलको ८१ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो।
आदर्श युवा क्लबको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत आइतबार पर्वतको गन्नी एफ.सी. र तनहुँ जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
शनिबारको खेलमा निर्णायक गोलकर्ता विश्व थापा उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।




