रास्वपा कास्की क्षेत्र नं. १ मा चुनावी अभियानको शुभारम्भ

रास्वपा कास्की क्षेत्र नं. १ मा चुनावी अभियानको शुभारम्भ

फागुन २१ गते हुने राष्ट्रिय निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं. १ ले चुनावी अभियान सुरु गरेको छ।

बालबालिकालाई अक्षरारम्भ गरिने पवित्र दिनका रूपमा मानिने श्रीपञ्चमीको अवसर पारेर पार्टीले पोखरा महानगरपालिका–२६ स्थित कालिकाचोकबाट औपचारिक रूपमा चुनावी अभियानको शुभारम्भ गरेको हो। धार्मिक र सांस्कृतिक महत्व बोकेको दिनबाट अभियान सुरु गर्दा जनतामा सकारात्मक सन्देश प्रवाह हुने विश्वास पार्टीले लिएको छ।

कास्की क्षेत्र नं. १ अन्तर्गत पोखरा महानगरपालिकाका केही वडा, रुपा गाउँपालिका र मादी गाउँपालिका पर्दछन्।

चुनावी शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कास्की क्षेत्र नं. १ का उम्मेदवार गणेश पौडेलले देश विकासका लागि आशा र प्रगतिका स्वरहरूलाई उजागर गर्दै जनतामा विश्वासको वातावरण सिर्जना गर्नु आवश्यक रहेको बताए। उनले बालेन शाह र रवि लामिछानेबीचको सम्बन्ध जेन–जी आन्दोलनको भावनाबाट जोडिएको उल्लेख गर्दै यो एकता लामो समयसम्म कायम रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा पार्टीका कास्की क्षेत्र नं. १ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपाने र क्षेत्रीय सचिव लक्ष्मण कार्कीले पुराना राजनीतिक दलहरूले जनतामा अविश्वासको वातावरण सिर्जना गरेको आरोप लगाए। उनीहरूले त्यही कारणले जनतामा पुराना दलका नेताप्रति निराशा र प्रतिशोधको भावना बढ्दै गएको र त्यसको परिणामस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढिरहेको दाबी गरे।

रास्वपाले नयाँ सोच, नयाँ नेतृत्व र जवाफदेही राजनीतिमार्फत जनताको भरोसा जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको जनाएको छ।

सम्बन्धित खवर