गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले विद्यार्थी लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०८२ मा कक्षा १० मा अध्ययनरत आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरूका लागि विहीबार पोखरा महानगरपालिका वडा नं. २६ स्थित नमस्ते पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो ।
नेसनल प्याव्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रमका प्रशिक्षक उत्तम दाहालले सहजीकरण गरेका थिए । उनले विद्यार्थीहरूमा अध्ययनप्रति रुचि विकास गर्ने उपाय, सिकाइमा देखिने चुनौतीहरू तथा तिनको समाधानका व्यावहारिक पक्षहरूबारे विस्तृत रूपमा जानकारी गराएका थिए ।
कार्यक्रमको उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने उपायबारे मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई लक्ष्यप्रति केन्द्रित भई निरन्तर मेहनत गर्न प्रेरित गरेका थिए ।
कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, केन्द्रीय सह–कोषाध्यक्ष शिवदत्त तिवारी, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहभागी विद्यार्थी तथा शिक्षकहरूले कार्यक्रम उपयोगी भएको प्रतिक्रिया समेत व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेसनल प्याव्सन कास्कीका उपाध्यक्ष विकल पौडेलले गरेका थिए भने अध्यक्ष रोशन कोइरालाले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए । सो अवसरमा नेसनल प्याव्सनमा आवद्ध भएका नयाँ सदस्य विद्यालयहरूलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।




