२६ औं आदर्श कप माघ ९ देखि पोखरामा हुने

२६ औं आदर्श कप माघ ९ देखि पोखरामा हुने

 

आदर्श युवा क्लबको आयोजनामा २६ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता यही माघ ९ गतेदेखि १६ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ।

आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष पदम गुरुङले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले विगतमा जिल्लास्तरीय हुँदै राष्ट्रियस्तरमा सफलतापूर्वक प्रतियोगिता आयोजना गर्दै आएको स्मरण गर्दै कोभिड–१९ लगायत विविध कारणले केही वर्ष प्रतियोगिता रोकिए पनि यस वर्ष पुनः निरन्तरता दिन लागिएको बताए।

“हामी २६ औं संस्करणसम्म आइपुगेका छौं। केही वर्षको अन्तरालपछि पुनः प्रतियोगिता आयोजना गर्न पाउँदा उत्साहित छौं,” अध्यक्ष गुरुङले भने।

प्रतियोगितामा नेपाल प्रहरी गण्डकी, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालय, आदर्श युवा क्लब, कास्की–११, गन्नी एफसी पर्वत, एन्फा तनहुँ, होराईजन क्लब वालिङ (स्याङ्जा) तथा म्याग्दी खेलकुद विकास समिति सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ तथा उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्रदान गरिनेछ।

त्यसैगरी विधागत पुरस्कारअन्तर्गत उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न करिब ६१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको मुख्य प्रायोजकमा फस्ट च्वाइस फुड्स लिमिटेड, शुद्धोधन–४, रुपन्देही रहेको छ।

आदर्श कपले पोखरासहित गण्डकी प्रदेशको फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा आयोजकले गरेको छ।

सम्बन्धित खवर