पोखराको पहिलो सामुदायिक क्याम्पसका रूपमा परिचित पोखरा बहुमुखी क्याम्पसको शनिबार सम्पन्न ३९औँ साधारण सभा तथा आठौँ अधिवेशनले सामाजिक व्यक्तित्व शंकर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले गुरुङलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
नवगठित कार्यसमितिको सदस्यहरूमा समीर गुरुङ, हस्तबहादुर थापा, कुमारी मुना वास्तोला, उमा कुमारी ठकुरी, नवीन नापित, भीम गौतम र देवकुमारी हिराचन निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष गुरुङ यसअघि दुई कार्यकालसम्म क्याम्पसको कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
यसअघि सामाजिक व्यक्तित्व नरेन्द्रमान लालचन दुई कार्यकालसम्म क्याम्पस सञ्चालक समितिको अध्यक्ष रहेका थिए । अधिवेशनमा कार्यभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष लालचनले शैक्षिक संस्था जस्तो पवित्र स्थलमा निःस्वार्थ सेवाभावले नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याए । उनले क्याम्पसको नेतृत्वबाट आफूले प्राप्त गरेको व्यक्तिगत तथा सामाजिक अनुभवबारे चर्चा गर्दै क्याम्पसको उतरोत्तर प्रगतिका लागि जीवनपर्यन्त लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै क्याम्पसका सल्लाहकार शंकर देवकोटाले शैक्षिक संस्थाहरूलाई कुनै पनि किसिमका व्यक्तिगत पूर्वाग्रहबाट मुक्त राख्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान उपाध्यक्ष बद्री श्रेष्ठ, सामाजिक व्यक्तित्व तथा क्याम्पसका आजीवन सदस्यहरू योगेन्द्र प्रधान, विश्वमोहन गौचन, देवकुमारी हिराचन, रवीन्द्र माकाजु, वडा नं. ९ की सदस्य गीता चर्माकार, क्याम्पस प्रमुख शिशुकला पराजुली लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
अधिवेशन सम्पन्न गर्न अधिवक्ता प्रकाशचन्द्र त्रिपाठीको संयोजकत्वमा लक्ष्मी अधिकारी र कृष्णप्रसाद कोइराला सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।




