लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता तथा सार्वजनिक प्रसारण सेवा रेडियो नेपालका संवाददाता कविराज खनाललाई प्रदान गरिने भएको छ।
लेखनाथ क्षेत्रमै रही कम्तीमा १० वर्ष निरन्तर पत्रकारितामार्फत यस क्षेत्रको समग्र विकास, पहिचान र उन्नयनमा योगदान पुर्याएका सञ्चारकर्मीलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको यो पुरस्कार यस वर्ष खनाललाई प्रदान गर्न लागिएको हो। पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र रहेको छ।
मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, सचिव रामशरण नेपाली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, पूर्व पुरस्कृत व्यक्तिहरू मध्येबाट बासुदेव पौडेल तथा मञ्चका स्थापनाकालीन अध्यक्ष भीमपाणि बराल सदस्य रहेको छनौट समितिले खनाललाई यस वर्षको पुरस्कारका लागि चयन गरेको हो।
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ मा जन्मिएका खनाल हाल पोखरा महानगरपालिका–३२ तल्लो गगनगौडामा बसोबास गर्दै आएका छन्। उनले करिब दुई दशकअघि आदर्श समाज राष्ट्रिय दैनिकबाट पत्रकारिता यात्रा सुरु गरेका हुन्। त्यसयता उनले करिब एक दशक सगरमाथा टेलिभिजनको संवाददाताको रूपमा समेत काम गरिसकेका छन्।
खनालले कृषि, सामाजिक न्याय, सुशासन, पर्यटन, वातावरण, कला, साहित्य, खेलकुदलगायत विविध क्षेत्रमा कलम चलाउँदै आएका छन्। लेखनाथ पत्रकार मञ्च कास्कीको पूर्व अध्यक्षको रूपमा समेत जिम्मेवारी सम्हालेका उनी २०६० सालदेखि पत्रकारितामा निरन्तर सक्रिय रहँदै आएका छन्।
लेखनाथ क्षेत्रका विकास निर्माण, साहित्यिक तथा पर्यटनका विविध पक्षका साथै ‘साततालको सहर’को रूपमा लेखनाथलाई चिनाउने कार्यमा उनले विशेष योगदान पुर्याउँदै आएका छन्। लेखनाथ क्षेत्रका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएका कारण उनी स्थानीय पत्रकारितामा परिचित नामका रूपमा स्थापित छन्।
वि.सं. २०७३ सालदेखि निरन्तर प्रदान हुँदै आएको यो पुरस्कार यसअघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल, सरिता तिमिल्सेना, दीपक परियार र ऋषिकान्त पौडेलले प्राप्त गरिसकेका छन्।
यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा अर्घौ–अर्चलेमा आयोजना हुने मूल समारोहमा प्रदान गरिने कार्यक्रम रहेको छ।




