फेवाताल पुर्नेलाई कारबाही गर्न नागरिक समाजको माग

फेवाताल पुर्नेलाई कारबाही गर्न नागरिक समाजको माग

 

फेवातालको मुख्य जलाधार क्षेत्रका डाँडा खारेर हर्पनखोला वरिपरिको सिमसार क्षेत्र पुर्ने गरेको गतिविधिप्रति वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीका तर्फबाट संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका तर्फबाट नरेन्द्रमान लालचनले बुधबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै विश्व रामसार क्षेत्रमा सूचिकृतसमेत रहेको विश्वकै तेह्रौ सुन्दर ताल फेवातालको अस्तित्व नासिने गरी दिनानुदिन यसरी अनधिकृतरुपमा पुर्नु निन्दनीय कार्य भएको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय डाँडा खारेर ताल तथा सिमसार क्षेत्र पुर्ने कार्यविरुद्ध उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरिसकेको तथा सर्वोच्च अदालत समेतले प्रदेश सरकार, स्थानीय सरकारलगायत सरोकारवाला निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेकोमा आदेशको इमानदारीपूर्वक पालना नहुँदा त्यसप्रकारका गतिविधि एकपछि अर्को हुने गरेको हाम्रो ठम्याइ छ ।’

साथै, अदालतको आदेश पूर्णरुपमा पालनाका लागि प्रदेश सरकार, स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै फेवाताल पुर्ने कार्यमा संलग्नलाई कानूनी कारबाही गरी दण्डहीनता अन्त्यका लागि जोडदार माग गरिएको छ ।

सम्बन्धित खवर