लेखनाथ महोत्सव सफलतातर्फ उन्मुख

लेखनाथ महोत्सव सफलतातर्फ उन्मुख

लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार तथा सांस्कृतिक गतिविधिका दृष्टिले सफलतातर्फ उन्मुख हुँदै गएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमानता महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्।

महोत्सव सञ्चालनको नवौँ दिनसम्म आइपुग्दा आयोजकले राखेको लक्ष्यअनुसार दर्शक सहभागिता देखिएको छ। कारोबारमा निरन्तर वृद्धि हुन थालेपछि आयोजकहरू उत्साहित बनेका छन्। विदाका दिनमा मात्रै करिब ४० हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए भने हालसम्म कुल दर्शक संख्या करिब २ लाख ५० हजार पुगेको आयोजकले जनाएको छ।

आर्थिक कारोबारतर्फ दैनिक करिब एक करोड रुपैयाँ बराबरको कारोबार भइरहेको छ। केही दिनमै महोत्सवमार्फत करोडौँ रुपैयाँको आर्थिक गतिविधि भएको जनाइएको छ। कृषि, जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, माछा तथा पशुपंक्षीसम्बन्धी स्टलहरूमा उल्लेख्य कारोबार भएको छ। विशेषगरी बाल उद्यान, खाना महोत्सव र कृषि प्रदर्शनी दर्शकका प्रमुख आकर्षण बनेका छन्।

यस वर्ष महोत्सवलाई थप परिष्कृत बनाउँदै कृषि बहस र उद्योग बहस कार्यक्रम पनि समावेश गरिएको छ। कृषि बहसमा माछापालन, अलैंची खेती र पोल्ट्री व्यवसायमा संलग्न कृषकहरूले आफ्ना अनुभव र चुनौती साझा गरेका थिए। उद्योग बहसमा विभिन्न उद्योगीहरूले व्यवसायिक संघर्ष र सफलताका कथा प्रस्तुत गरेका छन्। नीति निर्माता र सरोकारवालाबीच भएको प्रत्यक्ष संवादले महोत्सवलाई मनोरञ्जनसँगै ज्ञान र बहसको प्रभावकारी मञ्चका रूपमा स्थापित गरेको छ।

सांस्कृतिक, साहित्यिक तथा शैक्षिक कार्यक्रमहरू पनि महोत्सवका थप आकर्षण बनेका छन्। कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रमअन्तर्गत शनिबार अभिनन्दन कार्यक्रम आयोजना गरिने छ। विद्यालयस्तरीय प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, सुगम संगीत तथा लाइभ कन्सर्टहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।

२०६१ सालमा ‘सुन्तला महोत्सव’का रूपमा सुरु भएको लेखनाथ महोत्सव आज कृषि, उद्योग, संस्कृति र साहित्यको साझा मञ्चका रूपमा विकसित भएको छ। स्थानीय उत्पादनको बजारीकरण, साना तथा मझौला व्यवसायको प्रवर्द्धन र सांस्कृतिक पहिचान संरक्षणमा लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।

महोत्सव अझै तीन दिन सञ्चालन हुने भएकाले दर्शक संख्या र आर्थिक कारोबार थप बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर