पोखराको कास्कीकोटमा नयाँ लक्जरी रिसोर्ट सञ्चालनका तयारीमा छ । १ जनवरी २०२६ देखि औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हिमालयन हाइड अवे रिसोर्ट पोखरा, द सेन्टारा कलेक्सन हो ।
पोखरामा पहिलो पटक प्रवेश गर्न लागेको थाई होटल ब्राण्ड हो । सेन्टारा होटल्स एण्ड रिसोट्र्सको अन्तर्राष्ट्रिय पहिचान, थाई प्रेरित आतिथ्य र पोखराको अनुपम प्राकृतिक सौन्दर्यको संयोजनमार्फत रिसोर्टले केवल बसाइ मात्र होइन, लक्जरी प्रस्तुत गर्ने लक्ष्य लिएको छ । रिसोर्टमा ४२ वटा फराकिला डिलक्स कोठा, स्वीट र भिल्ला रहको रिसोर्टका महाप्रबन्धक प्रापाईजित थोंमाको भनाइ छ ।
‘प्रत्येक कोठामा निजी बगैँचा वा फराकिलो बालकोनी उपलब्ध छ, जहाँबाट हिमाल, पहाड र वरपरको ग्रामीण जीवन सहजै नियाल्न सकिन्छ,’ महाप्रबन्धक थोङ्माले भने ‘जोडी, परिवार र साना समूहलाई लक्षित गरेर डिजाइन गरिएका यी कोठाहरूले आधुनिक सुविधा र प्राकृतिक वातावरणबीच सन्तुलन कायम गर्ने प्रयास गरिएको छ।’ त्यति मात्र होइन, लक्जरी पर्यटकलाई लक्षित गरी दुईवटा भिल्लामा प्लज पुल समेत राखिएको छ।
सेन्टारा कलेक्सनको मूल पहिचान थाई आतिथ्य संस्कार हो–नम्रता, व्यक्तिगत सेवा र पाहुनाको अनुभवमा केन्द्रित दृष्टिकोण । हिमालयन हाइड अवे रिसोर्ट पोखराले यहीँ मूल्यलाई नेपाली आतिथ्य संस्कृतिसँग मिसाउँदै फरक स्वाद दिन खोजेको छ । रिसोर्टमा अल–डे डाइनिङ रेस्टुरेन्ट, पान–एशियन विशेष रेस्टुरेन्ट, बार तथा लाउन्ज र रमणीय टी हाउस सञ्चालनमा आउनेछन । मेनुमा नेपाली परिकारसँगै थाई तथा अन्तर्राष्ट्रिय स्वाद समावेश गरिने बताइएको छ, जहाँ स्थानीय कच्चा पदार्थ र क्षेत्रीय स्वादलाई विशेष महत्व दिइनेछ ।
बसाइँ र खानपानसँगै रिसोर्टको अर्को मुख्य आकर्षण वेलनेस पर्यटन हो । सेन्स बाई स्पा सेन्सभारी अन्तर्गत योग, ध्यान र विभिन्न वेलनेस कार्यक्रममार्फत ग्राहकलाई शारीरिक र मानसिक रूपमा पुनःताजगी दिने अवधारणा अघि सारिएको छ । यससँगै फेवा तालमाथिको प्याराग्लाइडिङ, सराङकोट ट्रेल आसपासका गाउँ पदयात्रा, तथा अन्नपूर्ण क्षेत्रतर्फका ट्रेकिङ जस्ता गतिविधि प्रदान गरिने उल्लेख छ । यसले साहसिकता र शान्तिको सन्तुलित अनुभव खोज्ने पर्यटकको चाहनालाई सम्बोधन गर्ने विश्वास लिइएको छ ।
बेड एन्ड ब्रेकफास्ट योजनाअन्तर्गत प्रतिरात २५ हजार रुपैयाँमा पर्दछ । यससँगै खानपान तथा स्पा उपचारमा १० प्रतिशत छुट र निःशुल्क अपराह्न चिया प्रदान गरिनेछ । ३१ मार्च २०२६ सम्म यो अफरले लक्जरी पर्यटनलाई विदेशी पाहुनासम्म सीमित नराखी आन्तरिक पर्यटनलाई पनि आकर्षित गर्ने जनाएको छ ।
नयाँ वर्षको पहिलो दिनबाटै नयाँ दृष्टिकोण सहित सुरु हुन लागेको यो परियोजनालाई पोखराको पर्यटनमा नयाँ अध्यायका रूपमा हेरिएको छ । पोखराबाट करिब ३५ मिनेटको दूरीमा रहेको कास्कीकोट आफैंमा फरक भूगोल र चरित्र बोकेको क्षेत्र हो । आखै अगाडी देखिने अन्नपूर्ण हिमश्रृखलाको सुन्दर दृश्य, ग्रामीण बस्ती, हरियाली र शान्त वातावरणले यो स्थानलाई लेकसाइडभन्दा फरक बनाएको छ ।
हिमालयन हाइड अवे रिसोर्ट यहीँ विशेषतालाई आफ्नो मुख्य शक्ति बनाउँदै विकसित गरिएको छ । यहाँ ठूला संरचना भन्दा प्रकृतिसँग घुलमिल हुने डिजाइन, खुला स्थान र दृश्यलाई प्राथमिकता दिइएको छ । रिसोर्टको अवधारणा नै प्रकृतिलाई ढाक्ने होइन, प्रकृतिसँगै बाँच्ने भन्नेमा केन्द्रित देखिन्छ ।




