अध्यक्षमा पुनः कृष्णप्रसाद निराैला
पथरी / निरौला बन्धु सेवा समाज, पथरीशनिश्चरे नगर समिति (मोरङ)को दोस्रो नगर अधिवेशन विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बिहीबार मोरङको पथरीशनिश्चरे–४ कीर्तिपुरमा रहेको किरातेश्वर शिवालय मन्दिर परिसरमा आयोजित अधिवेशनले सामाजिक सद्भाव र वंश उत्थानका विविध निर्णयहरू गर्दै नयाँ कार्यसमिति समेत चयन गरेको हो ।
ज्येष्ठ नागरिक र अक्षयकोषदातालाई सम्मान
अधिवेशनको विशेष अवसरमा समाजका ज्येष्ठ सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । अग्रजहरूको अनुभव र मार्गदर्शनलाई कदर गर्ने उद्देश्यले आयोजित उक्त सम्मान कार्यक्रममा समाजका आजीवन सदस्यहरू र अक्षयकोष स्थापनामा योगदान पुर्याउने अक्षयकोषदाताहरूलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

नयाँ कार्यसमिति
अधिवेशनले आगामी ३ बर्से कार्यकालका लागि कृष्णप्रसाद निरौलालाई पुनः सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ । निर्वाचन समितिका अनुसार ११ सदस्यीय नयाँ कार्यसमितिमा देहाय बमोजिमका पदाधिकारीहरू चयन भएका छन्:
| पद | नाम |
| अध्यक्ष | कृष्णप्रसाद निरौला |
| उपाध्यक्ष | हरिप्रसाद निरौला |
| सचिव | देवराज निरौला |
| सहसचिव | रामप्रसाद निरौला |
| कोषाध्यक्ष | शान्ता निरौला |
कार्यसमितिका सदस्यहरूमा राजकुमार निरौला, तारादेवी निरौला, टिका निरौला, प्रकाश निरौला, रेनुका निरौला र हरि निरौला चयन हुनुभएको छ ।

नीति, कार्यक्रम र प्रतिवेदन पारित
साधारणसभाको बन्द सत्रमा सचिव देवराज निरौलाले सांगठनिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनहरूमाथि व्यापक छलफल गरी पारित गरिएको छ । आगामी दिनमा वंशजहरूको लगत संकलन, कुल पूजा व्यवस्थापन र बन्धुहरूबिचको आपसी सहयोगलाई थप प्रभावकारी बनाउने प्रस्तावित नीति तथा कार्यक्रमबारे समेत छलफल भएको थियो ।

अध्यक्ष कृष्णप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरीशनिश्चरे क्षेत्रका १० वटै वडाका निरौला बन्धुहरूको बाक्लो उपस्थिति रहेको थियो ।
समाजका केन्द्रीय उपाध्यक्ष नीलकण्ठ निरौलाको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा केन्द्रीय महिला उपाध्यक्ष रूपा निरौला र पूर्व वरिष्ठ उपाध्यक्ष लक्ष्मी निरौला विशिष्ट अतिथि हुनुहुन्थ्याे । गोमा निरौलाको संयोजकत्वमा डम्बर निरौला र विश्वमणि निरौला निर्वाचन समितिको जिम्मेवारीमा रहनुभएकाे थियाे ।





