दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव

दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव

पुसको चिसो मौसमको कुनै वास्ता नगरी लेखनाथमा जारी २१औँ लेखनाथ महोत्सवमा बिहीबार बिहानैदेखि दर्शकको उल्लेख्य भीड देखिएको छ । मध्यान्हपछि मौसम खुलेसँगै महोत्सव अवलोकन गर्न आउने दर्शकको संख्या झनै बढ्दै गएपछि महोत्सव स्थल खचाखच भरिएको थियो ।

दर्शकको अत्यधिक चापलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परे पनि थप टिकट काउन्टर सञ्चालन तथा आपतकालीन गेट खोली बाहिरिने व्यवस्थासहित भिड व्यवस्थापन गरिएको थियो ।
महोत्सवको आठौँ दिन क्रिसमसको सार्वजनिक बिदा परेकाले अभिभावकहरूले बालबालिकालाई साथमा लिएर महोत्सव अवलोकन गर्न आउँदा अन्य दिनको तुलनामा बिहीबार दर्शक संख्या झण्डै दोब्बरले वृद्धि भएको आयोजकले जनाएको छ ।

महोत्सवको थप आकर्षणका रूपमा विद्यालयस्तरीय सांस्कृतिक प्रस्तुतिअन्तर्गत बिहीबार लिटल फ्लावर एजुकेशनल सेकेन्डरी स्कुल, जुनियर सिटिजन्स एकेडेमी, लिटल गार्डेन मोन्टेसरी तथा शिलशिला स्कुलका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध कार्यक्रमले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

यसैगरी जातजातिको भेषभूषा प्रदर्शनतर्फ भण्डारढिक नेवाःखलको प्रस्तुति आकर्षक रहेको थियो भने महिलाहरूको सम्मानस्वरूप आयोजना गरिएको रतौली कार्यक्रममा खाष्टेताल बाराही महिला समूहले प्रस्तुति दिएका थिए ।

पुस ३ गतेदेखि सुरु भएको महोत्सवको आठौँ दिनसम्म आइपुग्दा बिहीबार मात्रै करिब १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको स्टल सर्वेक्षणले देखाएको छ । हालसम्म कुल कारोबार ७ करोड ८० लाख रुपैयाँ पुगेको छ । बिहीबार मात्रै ३५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने अहिलेसम्म २ लाख २५ हजार दर्शकले महोत्सव अवलोकन गरिसकेको महोत्सव प्रचार–प्रसार उपसमितिका संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।

महोत्सवको आठौँ दिन दिवाकालीन कार्यक्रममा शिव हमाल, राजन कार्की, परशुराम अधिकारी, सपना गाहामगर, नविना सुवेदी र भूमिका गिरीले प्रस्तुति दिएका थिए । साथै जानुका पौडेल (प्याकुली) र निरु खड्काको प्रस्तुति पनि दर्शकले रुचाएका थिए ।
बेलुकी कन्सर्टमा गायक ओम गुरुङ, ¥यापर माइला र यम नेपालीको दमदार प्रस्तुतिले महोत्सवको स्टेज तताएको थियो ।

सम्बन्धित खवर