८औँ बागलुङ महोत्सवको तयारी पुरा, २०० भन्दा बढी स्टल बुकिङ

८औँ बागलुङ महोत्सवको तयारी पुरा, २०० भन्दा बढी स्टल बुकिङ

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु हुने ८औँ बागलुङ महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। जिल्लाकै ठूलो मेलाका रूपमा परिचित महोत्सवलाई भव्य र आकर्षक बनाउन संघले तीव्र गतिमा तयारी अघि बढाएको हो।

महोत्सवको पूर्वसन्ध्यामा बागलुङ बजार क्षेत्र ध्वजा–पताका तथा महोत्सवका ब्यानरले सजाइएको छ। बागलुङ नगरपालिका–१ रामरेखा स्थित बाङ्गेचौर खेल मैदानमा आयोजना हुने महोत्सवलाई कलात्मक र रचनात्मक ढंगले सजावट गरिएको छ। तयारी पुरा भएसँगै महोत्सवमा रहेका २०० भन्दा बढी स्टलहरू बुकिङ भइसकेका छन्।

महोत्सवमा बागलुङको पहिचान झल्काउने सुन्तलाको विशेष प्रदर्शनीका साथै जिल्लामा उत्पादन भएका स्थानीय सामग्रीका विशेष स्टलहरू राखिने छन्। कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषकहरूका लागि निःशुल्क स्टल व्यवस्था गरिएको संघका अध्यक्ष राजकुमार शाक्यले जानकारी दिए। महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गर्ने तय भएको छ।

महोत्सवको आकर्षणका रूपमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ। पुरुषतर्फ गण्डकी प्रदेशका पालिकास्तरीय टिमहरूबीच प्रतिस्पर्धा हुनेछ, जसमा हालसम्म १० टिम दर्ता भइसकेको खेल संयोजक प्रकाश थापाले बताए। महिला भलिबलतर्फ हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा ७ टिम सहभागी हुने जनाइएको छ।

यस्तै, पुस १६ गते गण्डकी प्रदेशका पर्यटनमन्त्रीको उपस्थितिमा बागलुङ पर्यटनसम्बन्धी चर्चा कार्यक्रम तथा फोटो प्रदर्शनी आयोजना गरिने संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए।
महोत्सव अवधिभर विभिन्न विधामा ख्याति प्राप्त कलाकारहरूको विशेष प्रस्तुति, टिकटक च्यालेन्ज, हेलिकप्टरबाट दृश्यावलोकन, नृत्य तथा कथा वाचन प्रतियोगिता जस्ता नव–प्रवर्द्धनात्मक कार्यक्रमहरू पनि समावेश गरिने संघका पूर्वअध्यक्ष तथा महोत्सवका प्रेस संयोजक नरेश कँडेलले बताए।

सम्बन्धित खवर