दोश्रो सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

दोश्रो सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

पथरी, दोश्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पथरी–११ फुटबल क्लबले जितेको छ। मंगलबार सम्पन्न फाइनल खेलमा पथरी–११ ले बेतना फुटबल क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
निर्धारित समयसम्म दुवै टोली गोलरहित बराबरीमा रहेपछि खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा बेतनाका रुद्र कार्की र विवेक पौडेलले गोल गरे भने आशिष लावती र निमा तामाङको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो। पथरी–११ का लागि मञ्जिल खड्का, सन्जय लिम्बू, निरज परियार र सौर्य राउतले सफल प्रहार गरे।
उपाधिसँगै पथरी–११ ले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बेतना फुटबल क्लबले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ।
विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर बेतना फुटबल क्लबका मुस्कान लिम्बू घोषित भए। उत्कृष्ट डिफेन्स पथरी–११ का धिरेन बिष्ट, उत्कृष्ट मिडफिल्डर बेतनाका मौसम सुब्बा र उत्कृष्ट फरवार्ड बेतनाकै निमा तामाङ घोषित भए। सर्वाधिक गोलकर्ता पथरी–११ का मिक्सेन दास र सन्जय लिम्बू घोषित हुँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पथरी–११ कै समिर क्षेत्री घोषित भए।

सम्बन्धित खवर