हस्तलेखनमा पञ्चायत माविको ‘ह्याट्रिक’ : नगरस्तरीय प्रतिस्पर्धामा तीन विद्यार्थी प्रथम

हस्तलेखनमा पञ्चायत माविको ‘ह्याट्रिक’ : नगरस्तरीय प्रतिस्पर्धामा तीन विद्यार्थी प्रथम

पथरी/उत्साही साना किसान कृषि सहकारी संस्था लिमिटेड, पथरीशनिश्चरे–२ (मोरङ )को आयोजनामा सम्पन्न ‘भुवनेश्वर+अम्बिकादेवी हस्तलेखन प्रतियोगिता २०८२’ अन्तर्गत सामुदायिक विद्यालयतर्फ पञ्चायत माध्यमिक विद्यालयले अभूतपूर्व सफलता हासिल गरेको छ । नगरस्तरीय यस प्रतिस्पर्धाको सामुदायिक समूहमा समाविष्ट चार समूहमध्ये तीनवटामा प्रथम स्थान प्राप्त गर्दै पञ्चायत माविले आफ्नो उत्कृष्टता प्रमाणित गरेको हो ।

गत शुक्रबार सम्पन्न लेखन चरणको नतिजा सार्वजनिक भएपछि हिजो सोमबार पञ्चायत माध्यमिक विद्यालयको प्राङ्गणमा एक विशेष समारोहका बिच विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरियो ।

पञ्चायत माविको सफलता र नेतृत्वको खुसी

प्रतियोगितामा पञ्चायत माविका तर्फबाट कक्षा ६ की रोश्ना महरा (छात्रातर्फ), कक्षा ६ का सुदिन लिम्बू (छात्रतर्फ) र कक्षा ५ का केवल कार्की ढोली (छात्रतर्फ) ले आ-आफ्नो कक्षा तथा समूहमा प्रथम स्थान हासिल गरे। साथै, कक्षा ५ की कुसाङ तामाङले तृतीय स्थान प्राप्त गरिन्।

विद्यालयले प्राप्त गरेको यो सानदार सफलताप्रति खुसी व्यक्त गर्दै पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले विद्यार्थीहरूको मेहेनत र लगावको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो: “हस्तलेखन प्रतिस्पर्धामा पनि हाम्रा विद्यार्थीहरूले तीन-तीन वटा समूहमा प्रथम स्थान हासिल गर्नु विद्यालयका लागि ऐतिहासिक गौरवको विषय हो । यसले हाम्रा विद्यार्थीहरूको लेखन सिप र विद्यालयको शैक्षिक वातावरणलाई उजागर गरेको छ। यस्ता कार्यक्रमले बालबालिकाको सिर्जनात्मक क्षमतामा थप निखार ल्याउने विश्वास लिएका छौँ ।”

सामुदायिक विद्यालयतर्फका विजेताहरूको विस्तृत नतिजा

सामुदायिक विद्यालयतर्फका अन्य प्रतिस्पर्धीहरूको नतिजालाई आयोजकले यसरी सार्वजनिक गरेको छ:

कक्षा ५ (छात्रातर्फ): यस समूहमा बालकल्याण माविकी छात्रा स्तुति लावती प्रथम हुन सफल भइन्। त्यस्तै चन्द्रकिरातेश्वर माविकी दिलकुमारी खाती द्वितीय, पञ्चायत माविकी कुसाङ तामाङ तृतीय र बुद्ध माविकी सिमोना खड्काले सान्त्वना स्थान प्राप्त गरे।

कक्षा ५ (छात्रतर्फ): पञ्चायत माविका केवल कार्की ढोली प्रथम भए भने हिरक आविका अविक मगर द्वितीय स्थानमा रहे। सिंहवाहिनी माविका सुसन भण्डारी तृतीय र बुद्ध माविका रितिक शाहले सान्त्वना पुरस्कार प्राप्त गरे।

कक्षा ६ (छात्रातर्फ): यस समूहमा पञ्चायत माविकी रोश्ना महरा प्रथम भइन्। सिंहवाहिनी माविकी यशोदा कटुवाल द्वितीय, जनता माविकी कोपिला पौडेल तृतीय र बालकल्याण माविकी स्नेहा लावतीले सान्त्वना स्थान हासिल गरे।

कक्षा ६ (छात्रतर्फ): पञ्चायत माविका सुदिन लिम्बू प्रथम हुँदा सिंहवाहिनी माविका आकाश ढटाल द्वितीय भए। त्यसैगरी दुर्गा माविका आदित्य पटेल तृतीय र सरस्वती आविका सनिल श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरे।

कार्यक्रमको समापन

नगरपालिकाका ४ वटा केन्द्रमा सञ्चालित प्रतियोगितामा १४१ विद्यार्थी सहभागी थिए। उत्साही साना किसान संस्थाकी अध्यक्ष विन्दु राइकाे अध्यक्षतामा पुरस्कार वितरण  कार्यक्रम सम्पन्न भयाे ।  संस्थागत विद्यालयकाे पनि विभिन्न समूहसहित छुट्टै नतिजा सार्वजनिक गरिएकाे छ । हिजोको पुरस्कार वितरण कार्यक्रमसँगै  प्रतियोगिताकाे यस वर्षकाे संस्करण पनि  सफलतापूर्वक समापन भएको छ। ‘भुवनेश्वर+अम्बिकादेवी हस्तलेखन प्रवर्धन कोष’ मार्फत विगत लामो समयदेखि विद्यार्थीहरूको लेखन सिप विकासका लागि बर्सेनि  यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना हुँदै आएका छन्। (केशव भारद्वाजबाट)

सम्बन्धित खवर