पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ र ९ मा न्यानो कपडा वितरण गर्नुभएको छ ।
नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत उप–प्रमुख काफ्लेको अध्यक्षतामा ती दुई वडामा न्यानो कपडा वितरण कार्यक्रमको उद्घाटन गरिएको हो । वडा नं. ९ को कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा वडाका चार वटा विद्यालयमा अध्ययनरत अति विपन्न तथा गरिब विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।

उक्त वितरण कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, वडा सदस्यहरू जंगबहादुर कार्की, कृष्णमाया नेपाली दर्जी, गणेश लिम्बु तथा वडा सचिव दीर्गराज रायको उपस्थिति रहेको थियो ।
यसैगरी वडा नं. ८ मा पनि वडाका विपन्न विद्यार्थी तथा विपन्न ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ । उक्त कार्यक्रममा वडा नं। ८ का वडाध्यक्ष तथा प्रवक्ता नविन कार्की, वडा सदस्यहरू बाबुराम चौधरी, शान्ता योङहाङ, झमकबहादुर लिम्बु, शिवकुमारी विश्वकर्मा तथा वडा सचिव बालकृष्ण राईको उपस्थिति रहेको थियो ।
उप–प्रमुख काफ्लेले भोलि वडा नं। ५ र ६ का कार्यालयहरूमा समेत न्यानो कपडा वितरण गरिने जानकारी दिनुभयो । नगरपालिकाले प्रत्येक वर्ष नगरभित्रका विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।




