नगरस्तरीय प्याब्सन प्रेसिडेन्ट कप : फुटबलमा न्यु पेगोडा च्याम्पियन, आदित्यको निर्णायक गोल

नगरस्तरीय प्याब्सन प्रेसिडेन्ट कप : फुटबलमा न्यु पेगोडा च्याम्पियन, आदित्यको निर्णायक गोल

पथरी/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरी शनिश्चरे नगर समिति (मोरङ)को आयोजनामा सम्पन्न ‘अन्डर-१५ नगरस्तरीय प्याब्सन प्रेसिडेन्ट कप’ को उपाधि पथरीशनिश्चरे १ मा रहेकाे न्यु पेगोडा अङ्ग्रेजी अावासीय स्कुलले चुमेको छ ।

शनिबार पथरीशनिश्चरे-१ काे दीपेन्द्र स्मृति खेल मैदानमा सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा न्यु पेगोडाले एभरेष्ट इङ्लिस बोर्डिङ स्कुललाई १-० को कठिन गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

खेलको सार: कप्तानको जादु र ऐतिहासिक जित

प्रतिस्पर्धात्मक फाइनल खेलमा न्यु पेगोडाका टिम क्याप्टेन आदित्या राई नायक बने । उनले गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल साबित भयो । प्याब्सन प्रेसिडेन्ट कपको प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका राई ‘हाई स्कोरर’ समेत घोषित भए । उनले उक्त प्रतियोगिता अवधिभर कुल ६ गोल गर्दै आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

“यो जित हाम्रा विद्यार्थीहरूको अथक परिश्रम र खेलप्रतिको समर्पणको प्रतिफल हो,” न्यु पेगोडाका प्रिन्सिपल उद्धव निरौलाले खुसी व्यक्त गर्दै भन्नुभयो, “हामी केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुदलाई पनि उत्तिकै प्राथमिकता दिन्छौँ। आजको यो सफलताले हाम्रा विद्यार्थीहरूमा थप उत्साह भरेको छ र अबको हाम्रो लक्ष्य जिल्ला स्तरीय प्रतियोगितामा नगरको प्रतिष्ठा जोगाउने गरी उत्कृष्ट प्रदर्शन गर्नु हुनेछ।”

जितसँगै न्यु पेगोडा इङ्लिस स्कुल अब हुने जिल्लास्तरीय प्याब्सन प्रेसिडेन्ट कपका लागि समेत छनोट भएको छ। प्रतियोगितामा नगर भित्रका १८ वटा संस्थागत  विद्यालयहरूले सहभागिता जनाएका थिए ।

भलिबल र टेबल टेनिस : एभरेष्ट र मेरिगोल्डको वर्चस्व

फुटबलसँगै सञ्चालित अन्य खेलकुद विधामा पनि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो ।

भलिबल : छात्र तथा छात्रा दुवैतर्फ एभरेष्ट इङ्लिस स्कुल विजेता बन्न सफल भयो । त्यस्तै, रेडस्टार इङ्लिस स्कुल दुवै विधामा उप-विजेता बन्याे ।

टेबल टेनिसमा मोरङ मेरिगोल्डका सुविन थापा प्रथम हुँदा प्याराडाइज इङ्लिस स्कुलका ईसान दर्नाल दोस्रो स्थान हासिल गर्न सफल भए।

गाउँगाउँबाट खेलाडी उत्पादनको लक्ष्य

प्याब्सनको वार्षिक कार्यतालिकाअनुसार ‘गाउँगाउँ’ बाटै फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । पुस ३ गतेदेखि तीन दिन चलेकाे  यस प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेल प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

विजेता तथा उप-विजेता टिमलाई जिल्ला प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेत र पथरी शनिश्चरे नगर अध्यक्ष सन्तोष बस्नेतले मेडल, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो । “नगर प्याब्सनले आयोजना गरेको यस वर्षको प्रेसिडेन्ट कप केवल एक प्रतिस्पर्धा मात्र नभई पथरी शनिश्चरेका संस्थागत विद्यालयहरूबिचको एउटा बृहत् खेलकुद उत्सव पनि हो,” प्रतियोगितात्मक कार्यक्रमलाइ सम्बाेधन गर्दै अध्यक्ष सन्तोष बस्नेतले भन्नुभयो, “हामीले फुटबलसँगै भलिबल र टेबल टेनिस जस्ता विधालाई पनि समानान्तर रूपमा अगाडि बढाएका छौँ, जसले गर्दा विद्यार्थीहरूमा लुकेर रहेका विविध प्रतिभा बाहिर आउन सकेका छन् । प्याब्सनको लक्ष्य नै ग्रासरुटबाट दक्ष र अनुशासित खेलाडी उत्पादन गरी उनीहरूलाई जिल्ला र राष्ट्रिय स्तरसम्म पुर्‍याउनु हो । आगामी वर्षहरूमा यी खेलहरूलाई अझ व्यवस्थित र परिष्कृत गर्दै लैजाने हाम्रो दृढ सङ्कल्प छ।”

पुरस्कार वितरण समारोहमा बोल्दै अतिथिहरूले खेलकुदले विद्यार्थीको शारीरिक विकास मात्र नभई अनुशासन र समूह कार्यकाे भावना समेत विकास गर्ने धारणा राखेका थिए। (केशव भारद्वाज)

सम्बन्धित खवर