विद्यालयमै ट्राफिक शिक्षा : दुर्घटना न्यूनीकरणतर्फ वाल्मीकिकाे पहल

विद्यालयमै ट्राफिक शिक्षा : दुर्घटना न्यूनीकरणतर्फ वाल्मीकिकाे पहल

पथरी/मोरङको पथरीशनिश्चरे नगरपालिका–२ मा रहेको वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयमा सवारी साधन दुर्घटना न्यूनीकरणसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक नियमको महत्व, सुरक्षित सडक प्रयोग र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो।

कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक मचिन्द्र योङहाङले गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई सवारी साधन चलाउँदा तथा पैदल हिँड्दा अपनाउनुपर्ने सावधानी, हेल्मेट र सिट बेल्टको प्रयोग, जथाभावी सवारी चलाउँदाको जोखिम, ट्राफिक चिन्ह र संकेतको पालना तथा किशोर–किशोरी उमेरमै देखिने लापरवाहीले निम्त्याउन सक्ने दुर्घटनाबारे व्यवहारिक उदाहरणसहित स्पष्ट पार्नुभयो।

अनुशिक्षण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद दुलालले विद्यार्थीहरू नै सुरक्षित ट्राफिक संस्कृतिका संवाहक भएको उल्लेख गर्दै सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले विद्यालयले शैक्षिक गतिविधिसँगै विद्यार्थीको जीवन सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

expert learning
Admission Banner Landscape – 9

कार्यक्रममा सहभागी विद्यार्थीहरूले ट्राफिक नियमसम्बन्धी जिज्ञासा राख्दै प्रश्नोत्तरमा सक्रिय सहभागिता जनाएका थिए। विद्यालय प्रशासनका अनुसार पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरू बढ्दै गएकाले विद्यार्थीस्तरबाटै सचेतना अभिवृद्धि गर्नु आवश्यक ठानी कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। समुदाय–प्रहरी सहकार्यमा सम्पन्न उक्त अनुशिक्षणले सुरक्षित सडक प्रयोग र दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

वाल्मीकिले उत्कृष्ट नतिजासँगै विभिन्न अतिरिक्त क्रियाकलापहरूमा पनि राम्राे प्रगति गरिरहेकाे छ । भर्खरैकाे माध्यमिक शिक्षा परीक्षा (एसइइ २०८१)मा पनि यस विद्यालयबाट २ जना विद्यार्थीले ४ जिपिए ल्याएर पूर्वमै उत्कृष्ट नतिजासहित समग्र पथरीशनिश्चरेकाे छवि उँचाे बनाउन विशेष भूमिका निर्वाह खेलेकाे स्मरणीय छ । (केशव भारद्वाज)

सम्बन्धित खवर