पथरी/स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने उद्देश्यका साथ पथरीशनिश्चरे नगरपालिकाले निर्माण अघि बढाइरहेको प्रशासनिक भवन अहिले निरन्तर अनुगमन र निरीक्षणको केन्द्रमा छ । विकास निर्माणमा पारदर्शिता र गुणस्तर सुनिश्चित गर्ने नगरपालिकाको प्रतिबद्धताअनुसार निर्माणाधीन भवनको स्थलगत अनुगमन नियमित रूपमा भइरहेको छ ।

पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र वेश क्याम्पको दक्षिणतर्फ निर्माण भइरहेको पाँचतले प्रशासनिक भवनको बिहीबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोको नेतृत्वमा नगरपालिकाको टोलीले अनुगमन निरीक्षण गरेको हो । अनुगमनका क्रममा निर्माणको प्रगति, संरचनाको गुणस्तर, प्रयोग भइरहेका सामग्री तथा समयसीमाभित्र सम्पन्न गर्ने विषयमा चासो व्यक्त गरिएको थियो ।

करिब ९ हजार २ सय ५२ वर्गफुट क्षेत्रफलमा फैलिएको उक्त भवन नगरपालिकाको दीर्घकालीन प्रशासनिक आवश्यकताअनुसार निर्माण भइरहेको छ। ठेक्का आह्वान (बोलपत्र) प्रक्रियामार्फत अघि बढाइएको यस परियोजनाको कुल लागत भ्याट र पिएससहित ११ करोड ८ लाख २५ हजार ७ सय १८ रुपैयाँ रहेको छ। नगरपालिकाका अनुसार भवन निर्माण सम्पन्न भएपछि एकै छानामुनि विभिन्न सेवा प्रवाह गर्न सहज हुने अपेक्षा गरिएको छ ।

अनुगमन टोलीमा नगर प्रमुख तुम्वापोसँगै प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, लेखा शाखा प्रमुख पीताम्बर वस्ती, वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण), इन्जिनियर हसरत अली नेपाललगायतको उपस्थिति रहेको थियो। टोलीले निर्माण कार्यमा संलग्न पक्षलाई गुणस्तरमा कुनै सम्झौता नगर्न र तोकिएको मापदण्डअनुसार काम सम्पन्न गर्न निर्देशनसमेत दिएको छ।
नगरपालिकाको प्रशासनिक भवन केवल संरचना मात्र नभई सेवा, सुशासन र विकासको प्रतीक भएकाले यसको निर्माणमा उच्च सतर्कता अपनाइएको नगर नेतृत्वको भनाइ छ। नियमित अनुगमनले विकास निर्माणप्रति स्थानीय सरकारको जिम्मेवारी र जवाफदेहिता झल्काउने विश्वास गरिएको छ। (केशव भारद्वाज)




