एउटा व्यक्तिको आपराधिक मानसिकताले गर्दा हजारौँ इमानदार सपना देख्नेहरूको बाटामा तगारो लाग्याे ।
अमेरिका जाने र त्यहाँको स्थायी बासिन्दा (ग्रिन कार्ड) बन्ने सपना देख्ने विश्वभरका लाखौँ युवाहरूका लागि एउटा दुखद् खबर आएको छ । वर्षौँदेखि जारी ‘डाइभर्सिटी भिसा’ (डीभी) अर्थात् चिठ्ठा प्रणालीलाई अमेरिकी सरकारले तत्कालका लागि स्थगित गरेको छ । यो निर्णय कुनै राजनीतिक दाउपेच मात्र नभएर हालै घटेको एउटा बीभत्स हत्याकाण्डको परिणाम हो ।

घटना जसले अमेरिकालाई झस्कायो
अमेरिकाको प्रतिष्ठित ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डले यतिबेला विश्वकै ध्यान तानेको छ । सो घटनामा दुई जना निर्दोषको ज्यान गयो । अनुसन्धानका क्रममा घटनाका मुख्य संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परे ।
प्रहरीका अनुसार भालेन्तेले यसै हप्ता पोर्चुगिज मूलका म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको समेत हत्या गरेको आशंका गरिएको छ । यो शृंखलाले अमेरिकी सुरक्षा निकायमा हलचल पैदा गरिदियो ।
लटरीबाट छिरेका ‘खतरा’
जब अनुसन्धानले भालेन्तेको पृष्ठभूमि खोतल्यो तब एउटा गम्भीर तथ्य बाहिर आयो । उनी सन् २०१७ मा त्यही ‘डिभी लटरी’ मार्फत अमेरिका प्रवेश गरेका थिए र ग्रिन कार्ड प्राप्त गरेका थिए । चिठ्ठा प्रणालीबाट छानिएर आएको व्यक्ति नै यस्तो गम्भीर अपराधमा संलग्न भएको पाइएपछि अमेरिकी प्रशासनले यो कार्यक्रमकै सुरक्षा पक्षमाथि प्रश्न उठाएको छ ।
यसलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रिन कार्ड लटरी’ योजना स्थगित गर्ने कडा निर्णय लिए । होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमका अनुसार, “अब कुनै पनि अमेरिकी नागरिकलाई भविष्यमा यस्तो हानि नहोस् भन्ने सुनिश्चित गर्न” यो योजना रोकिएको हो ।
के हो ‘डिभी लटरी’ र यसको प्रभाव ?
अमेरिकाले प्रत्येक वर्ष आप्रवासन दर कम भएका देशहरूबाट अधिकतम ५० हजार व्यक्तिलाई चिठ्ठा प्रणालीमार्फत भिसा उपलब्ध गराउँदै आएको थियो । यो कार्यक्रम खासगरी विकासोन्मुख देशका नागरिकका लागि ‘अमेरिकी सपना’ पूरा गर्ने सबैभन्दा सजिलो बाटो मानिन्थ्यो ।
नेपालमा यसको असर : नेपालमा पनि डिभी लटरीप्रति ठुलो आकर्षण छ । हरेक वर्ष लाखौँ नेपालीले यसका लागि आवेदन दिने गर्छन् र हजारौँको संख्यामा नेपालीहरू डिभी परेर अमेरिका पलायन भई त्यहाँ स्थायी बसोबास गरिरहेका छन् । अमेरिकाको यो पछिल्लो निर्णयले आगामी वर्षहरूमा डिभी भर्ने तयारीमा रहेका र प्रक्रियामा रहेका नेपाली आवेदकहरूलाई अन्योलमा पारेको छ ।
एउटा व्यक्तिको आपराधिक मानसिकता र कृत्यले हजारौँ इमानदार सपना देख्नेहरूको बाटोमा तगारो हालेको छ । सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको यो योजना कहिले खुल्छ वा यसको स्वरूप कस्तो हुनेछ भन्ने कुरा अब अमेरिकी सरकारको आगामी अध्यागमन नीतिमा निर्भर रहनेछ ।




