४७औँ स्थापना दिवसमा जनता माविको ज्ञान–उत्सव

४७औँ स्थापना दिवसमा जनता माविको ज्ञान–उत्सव

-केशव भारद्वाज

पथरी/ ज्ञानको उत्सव, प्रतिभाको प्रदर्शन र विद्यालयीय मित्रताको सुन्दर सङ्गम बनेर जनता माध्यमिक विद्यालय, पथरीशनिश्चरे–३ (मोरङ) को ४७औँ स्थापना दिवसको अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। शैक्षिक वातावरणलाई थप जीवन्त बनाउने उद्देश्यसहित  विद्यालय प्राङ्गणमा अाज आयोजित प्रतियोगितामा नगरमा रहेका ९ वटा सामुदायिक विद्यालयको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

प्रतिस्पर्धात्मक तर मैत्रीपूर्ण वातावरणमा सम्पन्न प्रतियोगितामा उत्कृष्टता  प्रदर्शन गर्दै अायाेजक जनता माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भयो । त्यस्तै ज्ञान र आत्मविश्वासको प्रभावशाली प्रस्तुति दिँदै सिंहवाहिनी माध्यमिक विद्यालय, पथरीशनिश्चरे–९ ले दोस्रो र चन्द्रकिरातेश्वर माध्यमिक विद्यालय  पथरीशनिश्चरे–७ ले तेस्रो स्थान हात पारे। विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई क्रमशः मेडल, सिल्डसहित नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको थियो । पुरस्कार वितरणसँगै विद्यार्थीहरूको अनुहारमा देखिएको खुशी र गर्वले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं. ३ का अध्यक्ष विजय लिम्बूले यस्ता शैक्षिक गतिविधिले विद्यार्थीमा तार्किक सोच, आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गर्ने उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक पदम सापकोटाले गर्नुभएको थियो भने सञ्चालन शिक्षक सुरेन्द्र दाहालले  गर्नुभयाे ।

उक्त प्रतियोगिताका लागि प्रदान गरिएका पुरस्कार विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. चण्डीराज चापागाईंका छोरा हेमसागर चापागाईंद्वारा प्रायोजन गरिएको विद्यालयले जनाएको छ, जसले संस्थापकप्रतिको सम्मान र विद्यालयप्रतिको समर्पणलाई झल्काएको छ।

२०३६ साल पौष १ गते स्थापना भएको जनता माध्यमिक विद्यालयले ४७ वर्षको यात्रामा शैक्षिक गुणस्तर र सह–पाठ्यक्रम गतिविधिमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिताले विद्यालय र समुदायबिचको बलियो सम्बन्धलाई पुनः उजागर गरेको छ।

सम्बन्धित खवर