लेटाङ, २९ मंसिर
हरेक निर्वाचनको समयमा ‘अब सडक पक्की हुन्छ’ भन्ने आश्वासन सुन्दै आएका लेटाङ नगरपालिका–३ का कीर्तिमान–भाउन्ने क्षेत्रका बासिन्दा फेरि निराश भएका छन्। झण्डै १५ वर्ष बितिसक्दा पनि उक्त सडक खण्डको अवस्था जस्ताको तस्तै रहँदा स्थानीयको धैर्य सकिँदै गएको छ।
दैनिक रूपमा टिपर, ट्रकजस्ता भारी सवारी साधन गुड्ने यो सडक कालोपत्रे नहुँदा सधैं धुलाम्मे बन्ने गरेको छ। उड्ने धुलोले यात्रुहरू मात्र होइन, सडकछेउमा बसोबास गर्ने परिवारको स्वास्थ्य, व्यवसाय र दैनिक जीवन प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएको स्थानीयको भनाइ छ।
स्थानीयवासीका अनुसार हरेक चुनावमा यो सडक प्राथमिकतामा पर्ने गर्छ, तर मतदान सकिएपछि समस्या फेरि बेवास्तामा पर्छ। “भोट माग्न आउँदा सडक पहिलो एजेन्डा हुन्छ, तर जितेपछि कसैले फर्केर सोध्दैन,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
लामो समयदेखिको उपेक्षाले समस्या झन् गहिरिँदै गएको भन्दै स्थानीयले अब भाषण र आश्वासनभन्दा पनि तत्काल धुलो नियन्त्रण र दीर्घकालीन समाधानका रूपमा सडक कालोपत्रे गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। उनीहरूका अनुसार अब पनि चासो नदिइए जनआक्रोश बढ्न सक्ने संकेत देखिन थालेको छ।




