पथरी/मोरङकाे पथरीशनिश्चरे नपा १ मा रहेकाे पञ्चायत माध्यमिक विद्यालयमा अहिले शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूबिच अन्तरक्रिया कार्यक्रम आयोजना हुँदै छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ मोरङको आयोजनामा पञ्चायत माविकाे वाचनालय कक्षमा उक्त कार्यक्रम सुरू भएकाे विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथाेकीले जानकारी दिनुभयाे । वार्षिक कार्यक्रमअनुसार माध्यमिक विद्यालयस्तरको शैक्षिक गुणस्तर सुधार तथा शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मोरङले जनाएको छ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका, कानेपोखरी गाउँपालिका, उर्लाबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका तथा लेटाङ नगरपालिकाअन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता हुँदै छ । साथै, सम्बन्धित पालिकाका शिक्षा शाखा प्रमुख वा प्रतिनिधि पनि कार्यक्रममा सहभागी छ। अन्तरक्रिया कार्यक्रममा शिक्षा शाखाबाट सञ्चालन भएका असल अभ्यासहरूको प्रस्तुतीकरण गरिने तथा सबै पालिकाबाट १–१ वटा विद्यालयको शैक्षिक गतिविधि र अभ्यास प्रस्तुत गरिने कार्यतालिका रहेको छ।
शिक्षा क्षेत्रका सरोकारवालाबिच अनुभव आदान–प्रदान, समस्या पहिचान तथा समाधानका उपाय खोज्ने लक्ष्यसहित आयोजित यस अन्तरक्रियाले विद्यालय शिक्षाको समग्र सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। (केशव भारद्वाज)




