पथरी/ पथरी शनिश्चरे नगरपालिका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री तयार गर्ने प्रक्रियामा जुटेको छ। नगरपालिकाले यसका लागि विषयविज्ञ, अनुभवी शिक्षक र शिक्षा तथा समाजशास्त्रसम्बद्ध विज्ञ व्यक्तिहरूबाट आवेदन आह्वान गर्दै सूचना सार्वजनिक गरेको छ।
नगर कार्यपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार स्थानीय पहिचान, संस्कृति र व्यवहारिक ज्ञानलाई पाठ्यक्रममा समेट्ने उद्देश्यले यो काम अघि बढाइएको नगरपालिकाले जनाएको छ। प्रस्तावित पाठ्यवस्तुमा पथरी शनिश्चरेको इतिहास र पहिचान, स्थानीय प्राकृतिक स्रोत र विविधता, सामाजिक समस्या तथा समाधान, स्थानीय पेशा–व्यवसाय, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन र हरित विद्यालयजस्ता विषय समावेश गरिनेछन्।
नगर शिक्षा समितिको निर्णयअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले तोकिएको मितिभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन सक्नेछन्। स्थानीय स्तरका ज्ञान, अनुभव र सीपलाई विद्यालय शिक्षासँग जोडेर विद्यार्थीलाई आफ्नै समाजप्रति जिम्मेवार र सचेत बनाउने लक्ष्यसहित नगरपालिकाले यो पहल थालेको हो।
नगरपालिकाका अनुसार स्थानीय पाठ्यपुस्तक लागु भएपछि विद्यार्थीले आफ्नो समुदाय, संस्कृति र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाउनेछन्, जसले शिक्षा मात्र होइन, स्थानीय पहिचान सुदृढीकरणमा पनि टेवा पुर्याउने विश्वास गरिएको छ। कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक भने छपाइ भएर सामुदायिक विद्यालयमा वितरण गरिएकाे छ ।




