पथरी/उर्लाबारी प्रहरीले लागुऔषध दुव्र्यसन, साइबर अपराध र साइबर सुरक्षाका विषयमा विद्यार्थीलाई सचेत गराउन विद्यालय–विद्यालयमा पुगेर प्रशिक्षण सुरु गरेको छ। युवा र बालबालिका आपराधिक क्रियाकलापको जोखिममा पर्ने वर्ग भएकाले अपराध नियन्त्रणका लागि विद्यालयलाई केन्द्र बनाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नम्बर ४ स्थित पार्लेन्स इन्टरनेशनल बोर्डिङ र वडा नम्बर ५ को सुनगाभा बोर्डिङ स्कुलका विद्यार्थीलाई प्रशिक्षण दिइएको हो । आगामी दिनमा उर्लाबारीका सबै सामुदायिक र संस्थागत विद्यालयमा अभियान विस्तार गरिने प्रहरीको योजना छ।

प्रमुख प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार पछिल्लो समय साइबर अपराधका घटना बढ्दै गएकाले विद्यार्थीलाई लक्षित गरी प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिएको हो। प्रशिक्षणमा लागुऔषध दुव्र्यसनका असर, साइबर अपराध कसरी हुन्छ, त्यसभित्र पर्ने गतिविधि र त्यसका कानुनी सजायबारे जानकारी दिइएको छ।
प्रहरी नायब निरीक्षक चुडामणि पौडेलका अनुसार बाल्यकालदेखि नै कानुन, सामाजिक जिम्मेवारी र कर्तव्यबारे सचेत गराउन सके अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्छ। विद्यार्थीमार्फत् समाजमा चेतना फैलाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानले आपराधिक गतिविधि घटाउने विश्वास प्रहरीको छ।




