“लिम्बुवानसहितको १०+१ प्रान्त” स्थापनाको माग : उर्लाबारीमा लिम्बुवान प्रान्तीय मञ्चको छैटौं जिल्ला अधिवेशन

“लिम्बुवानसहितको १०+१ प्रान्त” स्थापनाको माग : उर्लाबारीमा लिम्बुवान प्रान्तीय मञ्चको छैटौं जिल्ला अधिवेशन

मिक्सन मिभक लिम्बू अध्यक्षमा निर्वाचित

पथरी / “लिम्बुवानसहितको १० जोड १ प्रान्त स्थापना गर्न एकजुट होऔं” भन्ने निर्णायक नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम) मा आबद्ध संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको छैटौं मोरङ जिल्ला अधिवेशन शनिबार उर्लाबारीस्थित पूर्वाञ्चल बौद्ध गुम्बामा सम्पन्न भएको छ।

मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा वक्ताहरूले पहिचानमा आधारित संघीयताको अपरिहार्यतामा जोड दिएका छन् । प्रमुख अतिथि लिङ्देनले शुभकामना मन्तव्यका क्रममा संघीयताको वास्तविक कार्यान्वयन, पहिचानमा आधारित प्रदेश संरचना र लिम्बुवानसहितको १०+१ प्रान्तीय संरचना स्थापना नै मञ्चको मूल राजनीतिक एजेन्डा भएको स्पष्ट पार्नुभयाे । उहाँले संघीयता स्थापनाका क्रममा भएका सङ्घर्ष, सहिदहरूको बलिदान र ऐतिहासिक आन्दोलनको सम्मान गर्दै संघीयताको मर्मविरुद्ध सक्रिय शक्तिहरू अझै रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

अध्यक्ष लिङ्देनले शिक्षा सुधार अभियानलाई तीव्रता दिनुपर्ने औंल्याउँदै नेपालको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय यथार्थलाई स्वीकार गरी १२३ भन्दा बढी भाषा बोल्ने समुदायको पहिचान र स्वाभिमान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयाे । वरिष्ठ उपाध्यक्ष ज्ञानु इम्बुङ लिम्बूले पुराना दलहरू समावेशी नीति ल्याउन असफल भएको आरोप लगाउँदै पहिचान र समावेशिताको स्पष्ट एजेन्डा सलोरामसँग मात्र रहेको दाबी गर्नुभयाे ।  प्रान्तीय सचिव तथा लिम्बुवान भोलिन्टियर कमान्डर गणेश लिम्बूले लिम्बुवानको मुद्दालाई बेवास्ता गर्ने समूहहरूको राजनीतिक अवस्था कमजोर बन्दै गएको टिप्पणी गर्नुभयाे । प्रान्तीय सचिव ध्रुव लावतीले विभिन्न भाषा र जातिका समुदाय पछाडि पारिनु अन्याय भएको भन्दै सलोराम मात्र पहिचानको मुद्दा निरन्तर बोक्ने शक्ति भएको बताउनुभयाे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी मञ्चमा प्रवेश गर्ने नवप्रवेशीहरूलाई स्वागत गरिनुका साथै जिउँदो सहिद तथा प्रान्तीय सदस्य दुर्गा वनेमलाई सम्मान गरिएको थियो। जिल्ला सचिव मुक्साङ लिम्बूले सञ्चालन गर्नुभएकाे कार्यक्रमको सभापतित्व कायम मुकाम अध्यक्ष रामकुमार खुदाङले गर्नुभयाे । अधिवेशनले मिक्सन मिभक लिम्बूलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

याे दल चुनाव चिह्न दाप सहितको खुकुरी लिएर निर्वाचन आयोगमा दर्ता समेत भइसकेको छ।

सम्बन्धित खवर