पथरी/झापा जिल्लाको कमल गाउँपालिका–५ मा अवस्थित आदिवासी रङ्गशालामा शनिबार एक विशेष समारोहबिच राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा गरिएको छ। ‘जेन-जी आन्दोलन’ को गर्भबाट उदाएको यस नवगठित दलको अध्यक्षमा सोही आन्दोलनका क्रममा एक खुट्टा गुमाएका अभियन्ता राजेश पोर्तेल चयन हुनुभएको छ ।
घोषणा कार्यक्रममा देशभरबाट आएका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहमा आन्दोलनका क्रममा घाइते भएका योद्धाहरू तथा सहिद परिवारजनलाई सम्मान गरिएको थियो। वक्ताहरूले यस पार्टीलाई सत्ता र स्वार्थको उपज नभई पीडा, बलिदान र लामो सङ्घर्षको जगमा खडा भएको राजनीतिक शक्ति का रूपमा चित्रण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अभियन्ता दुर्गा प्रसाईंले ‘जेन-जी आन्दोलन’ नै वर्तमान राजनीतिक दुरवस्थाको अन्तिम र निर्णायक विकल्प भएको दाबी गर्नुभयो। उहाँले पार्टीको बाँसुरी चुनाव चिन्हलाई व्यापक समर्थन गर्न जनसमूहलाई आह्वान पनि गर्नुभयो । पार्टीले आफ्ना मुख्य एजेन्डाहरूमा घाइते, पीडित र सहिद परिवारको आवाज, युवाहरूको सार्थक सहभागिता, सुशासनको प्रत्याभूति, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सङ्घर्ष र प्रणालीगत परिवर्तनको आवश्यकतालाई प्राथमिकतामा राखेको जनाएको छ ।
अध्यक्ष पोर्तेलले आफ्नो शारीरिक अपाङ्गतालाई कुनै कमजोरी नभई सङ्घर्ष र दृढताको प्रतीकका रूपमा प्रस्तुत गर्दै “परिवर्तन सम्भव छ” भन्ने सशक्त सन्देशका साथ आफ्नो राजनीतिक यात्राको थालनी गरेको बताउनुभयो ।




