नाट्य महोत्सवले जगायो सिर्जनशीलता : रेडस्टार स्कुल बन्यो ‘क्रिएटिभ हब’

नाट्य महोत्सवले जगायो सिर्जनशीलता : रेडस्टार स्कुल बन्यो ‘क्रिएटिभ हब’

-केशव भारद्वाज

पथरी/ मञ्चमा नाटकका पर्दाहरू खुल्दा, कक्षा कोठाका विद्यार्थीहरू क्षणभरमै सचेत नागरिक, हास्य कलाकार र गम्भीर पात्रमा रूपान्तरित भए। मोरङको पथरीशनिश्चरे–२ मा रहेको रेडस्टार अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय मा “रेडस्टार नाट्य महोत्सव–२०८२” सम्पन्न हुँदा सिर्जनशीलताको यस्तै रङ्गीन उत्सव देखियो।

शुक्रबार विद्यालयको रेडस्टार नाट्य समूहले आयोजना गरेको यो प्रतियोगितात्मक महोत्सव विद्यार्थीहरूको प्रतिभा प्रदर्शनको एउटा सशक्त माध्यम बन्यो। कक्षा ४ देखि कक्षा ८ सम्मका १०० भन्दा बढी विद्यार्थीहरूले यसमा सक्रिय सहभागिता जनाए। उनीहरूले विभिन्न राजनीतिक, सामाजिक तथा चेतनामूलक विषयवस्तुहरूमा आधारित नाटकहरूको जीवन्त प्रस्तुति दिए, जसले दर्शकहरूलाई हँसायो, रुवायो र सोच्न बाध्य बनायो।

आत्मविश्वास र अभिनय कौशलको पाठशाला

यो महोत्सव केवल मनोरञ्जनको लागि थिएन; यो विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र अभिनय कौशल विकास गर्ने उद्देश्यले गरिएको एक महत्वपूर्ण शैक्षिक अभ्यास थियो। नाट्य निर्देशक तथा विद्यालयका अभिनय प्रशिक्षक जीवन बरालका अनुसार महोत्सव अत्यन्तै उत्साहजनक र रङ्गीन बन्यो। “यो महोत्सवले हाम्रा विद्यार्थीहरूलाई मञ्चीय कलासँग नजिक गराउँदै समूहगत सहकार्य र व्यक्तित्व विकासमा ठूलो योगदान दिएको छ,” बरालले बताउनुभयो। विद्यार्थीहरूको प्रस्तुतिमा देखिएको निपुणताले रेडस्टार विद्यालयलाई पुनः एक पटक सिर्जनात्मक विद्यालय को रूपमा स्थापित गरेको छ।

प्रतिभालाई सम्मान र भविष्यको प्रेरणा

यस वर्षको महोत्सवमा कुल १७ विधामा उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कृत गरिनेछ— जसमा १५ व्यक्तिगत र दुइटा समूहगत विधा छन् । विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि. एन. तिम्सिनाले विद्यार्थीहरूको अत्यधिक सहभागिता र आकर्षक प्रस्तुतिले आफूहरूलाई ठूलो प्रेरणा दिएको बताउनुभयो। “सम्पूर्ण प्रस्तुति सफल र प्रेरणादायी बन्यो। यस उत्साहजनक सहभागिताले हामीलाई आगामी दिनमा अझ ठूलो स्तरको नाट्य महोत्सव आयोजना गर्ने हौसला मिलेको छ,” प्रिन्सिपल तिम्सिनाले प्रतिक्रिया दिनुभयो ।

 शिक्षकलाई विद्यार्थीको क्यारिकेचरमार्फत सम्मान

महोत्सवको एक विशेष र आकर्षक प्रस्तुतिले उपस्थित सबैलाई मोहित पार्यो। कक्षा ८ मा अध्ययनरत सामुएल सुब्बा र उनका साथीहरूले विद्यालयका शिक्षक तथा पत्रकार छविराज ढकालको पत्रकारिता पेसालाई सम्मान गर्दै एक जीवन्त क्यारिकेचर प्रस्तुत गरेका थिए। यो प्रस्तुति  विद्यार्थीहरूले आफ्ना शिक्षकप्रति देखाएको आदर र रचनात्मक सम्मानको अनुपम उदाहरण बन्यो । रेडस्टारको यो नाट्य महोत्सव विद्यार्थीहरूको लुकेको प्रतिभालाई बाहिर ल्याउने, समूहमा काम गर्न सिकाउने र भविष्यमा ठुला मञ्चहरूमा निर्धक्क उभिन सक्ने आत्मविश्वासको उन्नत बिउ रोप्ने एउटा सफल प्रयास हो ।

बहुप्रतिभा पहिचान र अतिरिक्त क्रियाकलापहरूमा निरन्तर उत्कृष्ट प्रगति गर्दै अएकाे यस विद्यालयले सात वर्षदेखि शैक्षिक नतिजामा पनि अब्बलता प्रमाण पेस गर्दै छ । भर्खरै प्रकाशित राष्ट्रिय परीक्षा बोर्डको नतिजामा कक्षा १२ का चन्दन शाहले ३.९६ जीपीए ल्याएर देशभरमै प्रथम भएकाे दाबी गरेकाे पाइन्छ । शाहलाई एक विशेष कार्यक्रमका बिच प्रदेश प्रमुख पर्शुराम खापुङ र नेपाली चलचित्रका महानायक राजेश हमालले सम्मान गर्नुभएको थियो ।

सम्बन्धित खवर