पश्चिम ब्युराे / नेपालमा अब्बल शैक्षिक जनशक्तिको खोजी कतिसम्म आकर्षक हुन सक्छ ? सुदूरपश्चिमको कैलालीमा रहेको चैतन्य पाठशालाले त्यसको एउटा बलियो उदाहरण प्रस्तुत गरेको छ।
सामान्यतया कम तलबको गुनासो भइरहने शिक्षा क्षेत्रमा यो पाठशालाले एक दक्ष गणित शिक्षकका लागि खानबस्नको पूर्ण व्यवस्थासहित मासिक एक लाख रुपैयाँ तलबको ‘गोल्डेन ह्यान्डसेक’ अफर गरेको छ। प्रि-स्कुलदेखि कक्षा १२ सम्म अध्यापन हुने यस पाठशालालाई कक्षा पाँचदेखि दशसम्मका विद्यार्थीहरूलाई गणित सिकाउन सक्ने, दक्ष र योग्यता पुगेका शिक्षक चाहिएको छ।
प्रिन्सिपल प्रेमनिधि ओझाका अनुसार, यो जिम्मेवारी केवल कक्षा कोठामा मात्र सीमित छैन; शिक्षकले बिहानदेखि साँझसम्म विद्यालय परिसरमै बसेर शैक्षिक वातावरणलाई निरन्तरता दिनुपर्नेछ। यदि तपाईं आकर्षक तलब र सम्मानजनक वातावरणमा आफ्नो ज्ञान बाँड्न चाहनुहुन्छ भने मंसिर २९ गतेसम्म खुला रहेको यो दरखास्त पश्चिमी नेपालको शिक्षा क्षेत्रमा एउटा नयाँ अध्याय थप्न सक्ने सुनौलो अवसर हो ।







