सञ्जज आचार्य, पाेखरा
पोखरा–२७, तालचोकमा आयोजना हुने २१औँ लेखनाथ महोत्सव आगामी पुस ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघले आइतबार गरेको पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारीबारे जानकारी दिँदै यस वर्ष करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको घोषणा गरेको हो।
संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीका अनुसार २०५८ सालमा सुन्तला प्रदर्शनीका रूपमा थालिएको कार्यक्रमलाई निरन्तर परिष्कृत गर्दै २०६१ सालदेखि लेखनाथ महोत्सवको रूपमा नियमितरूपमा सञ्चालन हुँदै आएको छ। उनले महोत्सवले लेखनाथ क्षेत्रको सांस्कृतिक पहिचान, स्थानीय उत्पादनको बाजार विस्तार तथा विभिन्न जातजाति र भाषाभाषीलाई एक थलोमा ल्याउने महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन्।
महोत्सव प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले आर्थिक चुनौतीपूर्ण परिस्थितिमा पनि व्यवसायीको मनोबल उकास्ने, बजारलाई गतिशील बनाउने तथा आपूर्ति व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताए। स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन महोत्सव प्रभावकारी हुने उनको दाबी छ।
यस वर्ष करिब ३३५ स्टल रहने महोत्सवमा २ लाख ५० हजारभन्दा बढी दर्शक आकर्षित हुने आयोजकको अनुमान छ। औद्योगिक उत्पादन, हस्तकला, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री, सूचना–प्रविधि तथा सञ्चार उपकरण, वित्तीय तथा सेवा क्षेत्रमा आधारित प्रदर्शनीसँगै यस क्षेत्रका विशेष उत्पादित वस्तु—सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी र दुग्धजन्य पदार्थ—को बिक्री तथा प्रदर्शनी महोत्सवका प्रमुख आकर्षण रहनेछन्।
फुड फेस्टिभल, अटो मोबाइल प्रदर्शनी, कला–संस्कृति झाँकी, सुगम संगीत, पप कन्सर्ट, लोकदोहोरी तथा हास्यव्यंग्य कार्यक्रम, विद्यालयस्तरीय गतिविधि, रत्यौली गीत, टिकटक तथा कन्टेन्ट क्रिएशन प्रतियोगिता, व्यवसायिक अभिमुखीकरणसहित ‘बिजनेस टक’ र मोटिभेसनल सेसन पनि महोत्सवमा समावेश गरिएको छ। यससँगै बुद्धको प्रतिमामार्फत पर्यटन प्रवर्द्धनका कार्यक्रम प्रस्तुत गरिने बताइएको छ।
सर्वसाधारणका लागि प्रवेश शुल्क १ सय रुपैयाँ, विद्यार्थीका लागि ५० रुपैयाँ तथा साँझ हुने कन्सर्टका लागि २ सय रुपैयाँ तोकिएको छ।
महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने, ८५ लाख खर्च हुने र करिब १० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ। बचेको रकम नवउद्यमी प्रवर्द्धन, उद्यमशिलता विकास, औद्योगिक क्षेत्र निर्माण तथा सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने संघले जनाएको छ।
गण्डकी प्रदेश पत्रकार महासंघका अध्यक्ष रमेश पौडेलले आर्थिक संकटका वेला स्थानीय उत्पादन प्रवर्द्धन तथा व्यवसायीलाई उत्प्रेरित गर्ने किसिमका कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
मुख्य प्रायोजक गृहलक्ष्मी ग्यासका महाप्रबन्धक भिमराज लामिछानेले ग्यास प्रयोगमा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिँदै महोत्सवसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। कार्यक्रममा महासचिव भरतराज ओझाले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नारासहित सञ्चालन हुने २१औँ महोत्सवलाई प्रभावकारी बनाउन निर्देशक समिति, सल्लाहकार समिति, उपसमिति, कार्यसम्पादन समिति र ३०० सदस्यीय मूल समारोह समिति गठन गरिएको आयोजकले जनाएको छ।




