आयोजकलाई स्तब्ध पार्दै सप्तरंगी विजयी

आयोजकलाई स्तब्ध पार्दै सप्तरंगी विजयी

पथरी
मोरङको पथरीशनिश्चरेमा जारी चौथो सिरीजंघा फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सप्तरंगी फुटबल क्लब कानेपोखरी विजयी भएको छ।

सप्तरंगीले आयोजक सिरीजंघा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमै सप्तरंगीले बलियो प्रदर्शन गर्दै आयोजकलाई स्तब्ध पारेको थियो।

पहिलो हाफको १२औं मिनेटमा आयोजकका जुनियर सावाले आत्मघाती गोल गरे। कर्नरबाट आएको बल रोक्ने प्रयासमा सावाको हेड गोलपोष्टभित्र गएपछि सप्तरंगीले अग्रता लियो। पहिलो हाफमा एक गोलले पछि परेको आयोजक टोलीले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन।

दोस्रो हाफको २०औं मिनेटमा सप्तरंगीका निकेश राईले काउन्टर अट्याकमार्फत दोस्रो गोल गर्दै जित पक्का गरे। खेलको ‘म्यान अफ द म्याच’ सप्तरंगी फुटबल क्लबका हेमन्त मगर घोषित भए।

बुधबारको खेल कल्याण फुटबल क्लब र मंगलबारे फुटबल क्लबबीच हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

पथरीशनिश्चरे–३ मा रहेको सिरीजंघा फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँमा चित्त बुझाउनेछ।

मोरङ र झापाका आठ टिम सहभागी रहेको प्रतियोगिता असोज २८ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित खवर